प्रमोद यादव
पर्सा,१४जेठ:श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटी ललितपुरको सहयोगमा पर्साकाे पटेर्वासुगौली गाउँपालिका–५ निचुटा माविमा सञ्चालित दुई महीने इलेक्ट्रिसियन तालीममा अहिलेसम्म दुईजनाको मात्र सहभागीता रहेको पाइएको छ ।
गत बैशाख ३ गतेदेखि सञ्चालित यो तालीम असार २ गतेसम्म सञ्चालन अवधि तोकिएको छ । दैनिक ६ घण्टा र दुई महीनामा ३९० घण्टा अवधि तोकिएको तालीममा प्रशिक्षकद्वय भरतकुमार ठाकुर र नित्यानन्द दासले तालिम दिदै आएका छन्।तर यो तालीमका लागि आवेदन भरेका २० जनामध्ये उद्घाटन र त्यसपछिका समयमा केही मात्र सहभागिता देखिएको थियो भने अहिले सहभागीहरुकाे सङ्ख्या पातलिएर दुई/तीन जनामा सीमित भएको छ ।
संघीय सरकारको आयोजनामा कार्यक्रम भइरहेको हो । खासगरी वैदेशिक रोजगारीमा जानेहरूलाई दक्ष सीप प्रदान गर्ने उद्देश्यले तालीम आयोजना गरिएको हो । अहिले यो तालीम पटेर्वासुगौली, पर्सागढी नपालगायतका क्षेत्रमा सञ्चालित छ । संघ, प्रदेश र पालिकास्तरबाट पनि वैदेशिक रोजगारका लागि यस प्रकारका तालीमहरू सञ्चालनमा छन् । अहिले आर्थिक वर्ष सकिन करीब डेढ महीना बाँकी छ ।
यो अवधिमा पालिकास्तरबाट पनि सामाजिक विकास कार्यक्रम अन्तर्गत विभिन्न सीपमूलक तालीम, गोष्ठीहरूको आयोजना गरिंदै आएको छ । पालिकास्तरबाट प्रदान गरिने सामाजिक विकास शाखा अन्तर्गतका तालीम, गोष्ठीहरूमा भने सहभागीहरु सङ्ख्या अत्यधिक हुने गरेको छ ।
पालिका र प्रदेशस्तरबाट प्रदान गरिने तालीम, गोष्ठीहरूमा सहभागीहरूका लागि खाजा, खाना र पारवाहन खर्च र भत्ताको पनि व्यवस्था हुने हुँदा यस प्रकारका कार्यक्रममा सहभागिहरुकाे सङ्ख्या बढी हुने गरेको छ । कार्यक्रममा आमन्त्रण नगरिएका मानिसहरू पनि खाजा, खाना, पारवाहन खर्च र भत्ताका लागि सहभागी हुने गरेका छन् ।
तर सीपमूलक तालिममा भने सहभागीहरुकाे सङ्ख्या न्यून हुने गरेको पटेर्वासुगौलीको घटनाले पनि पुष्टि गरेको छ । पटेर्वासुगौलीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले आयोजना गरेको दुई महीने इलेक्ट्रिसियन तालीम सञ्चालनको जिम्मेवारी क्रियटिभ स्किल्स प्रालि, वीरगन्जले लिएको छ ।
सहभागिहरुकाे सङ्ख्या पातलिएसँगै अहिले दैनिक ६ घण्टा तालीम आयोजना गर्नुपर्नेमा दुई घण्टा मात्र तालीम दिइएको सहभागीहरूले बताए । तालीममा सहभागिता जनाएका दुई/तीन जनाबाहेक अन्यको हाजिरी भने दैनिक गरिंदै आइएको छ ।
आयोजक संस्थाका प्रोप्राइटर राकेश साहले दैनिक तालीममा सहभागी नहुनेहरूको लागि हाजिरी रजिस्ट्रर घरमा पुर्याएर हाजिरी गराउने गरेका छन् । सहयोगी संस्थाबाट आर्थिक लाभका लागि यसो गरिएको बुझिन आएको छ । तालीम केन्द्रमा गएर यसबारेमा बुझ्दा तीनजना उपस्थित थिए ।
दुईजना प्रशिक्षक र तीनजना सहभागितामा कार्यक्रम हुँदै आएकोमा दैनिक २० जनाको सहभागिता हाजिरीबाट देखिनुले यो कुराको पुष्टि गर्छ । सहभागीहरूले आफूहरू बढीमा तीनजना मात्र उपस्थित हुने गरेको बताए ।

