काठमाडौं,७जेठःप्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिमा बुधबार सांसदहरुबीच नै हात हालाहालको अवस्था देखियो ।
जहाँ महिला नामको उक्त समितिका पुरूष सभापति एंव एमाले सांसद किरण कुमार साह र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीबीच हात हालाहालको अवस्था आएको हो ।
बुधबार बिहान ७ बजे बसेको समितिको बैठकमा विवाद हुँदा सांसद कुसारीले सभापति साहलाई आफ्नो नेमप्लेट र माइकको झट्टी हानेकी हुन् । यद्यपि दुवै वस्तुले साहलाई नलागेकाले कुनै चोटपटक लागेन ।
प्रत्यक्षदर्शीका अनुसार सांसद कुसारी बैठकमा ढिला आएकी थिइन् । त्यसपछि उनले सभापति साहको अनुमतिबिना नै आफ्ना कुरा राख्न थालेकी थिइन् । त्यसमा सभापति साहले आपत्ति जनाएपछि भनाभन हुँदा आक्रोशित मुद्रामा देखिएकी कुसारीले रिस सम्हाल्न नसक्दा माइक र नेमप्लेट प्रहार गरिन् ।
सभापति साहका अनुसार शोभा ज्ञवाली र सुशीला सिर्पाली संयोजक रहेका उपसमितिका प्रतिवेदन समितिमा बुझाउन बुधबार बैठक डाकिएको थियो । त्यहीक्रममा ढिलो आएकी कुसारीले आफूखुसी बोल्न थालेपछि रोक्न खोज्दा आक्रमण भएको साहले बताए ।
उता कुसारीले भने सभापति साहले आफ्ना गल्ती ढाकछोप गर्न बोल्न निषेध गरेपछि आफू आक्रोशमा आएको बताएकी छन् ।साभारःखबरहब

