वीरगन्ज,२७ फागुनःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति हरि पन्तले पर्साका चारै निर्वाचन क्षेत्रमा अत्याधिक मत दिएर रास्वपाका उम्मेदवारहरुलाई जिताएकोमा जिल्लाभरिका मतदाता, शुभचिन्तक र पार्टी कार्यकर्ताप्रति आभार प्रकट गरेका छन् ।
पर्सा–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदसमेत रहेका पन्तले आफूसँगै जिल्लाका चारै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवारहरूको विजयलाई परिवर्तनको लहरको रूपमा व्याख्या गर्दै देशमा भ्रष्टाचार र कुशासन अन्त्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
पन्तले भनेका छन्, “पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा मसहित जिल्लाका चारै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गराउनु भएका सम्पूर्ण जिल्लावासी, मतदाता, शुभेच्छुक, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कार्यकर्ता तथा साथीहरू र परिवारका सदस्यहरू प्रति हार्दिक आभार प्रकट गर्दछु ।”मतदाताहरूको साथ, , सहयोग र मार्गदर्शनले नेपालभरि परिवर्तनको लहर आएको दाबी समेत गर्दै पन्तले भनेका छन् ,“तपाईँहरूको साथ, सहयोग र मार्गदर्शनले आज हामीले देशैभरि परिवर्तनको लहर ल्याउन सफल भएका छौँ,” ।
आगामी दिनहरूमा आँफुसँगै पर्साका चारै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूमाथि परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचार, बेथिति र कुशासनलाई अन्त्य गरी विधिको शासन स्थापना गर्ने जिम्मेवारी आएको उनको भनाई छ । उनले देशलाई प्रगतिको बाटोमा लैजाने आफूहरूको यात्रामा सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वादको आवश्यकता रहने बताएका छन् । “यस यात्रामा सहकार्य गर्नुहुने तपाईँ सबैको निरन्तर सुझाव, सल्लाह, माया र आशीर्वादको मलाई आवश्यकता रहनेछ,” उनले भनेका छन् ।
फागुन २१ मा भएको निर्वाचनमा रास्वपाबाट पर्सा – १ मा पन्त, पर्सा – २ मा सुशील कुमार कानु, पर्सा – ३ मा रामाकान्त चौरसिया र पर्सा – ४ मा टेकबहादुर शाक्य फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् । समानुपातिक तर्फ पनि पर्सामा रास्वपा नै पहिलो पार्टी बनेको छ ।

