वीरेन्द्रनगर,७जेठः खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा शुद्ध खानेपानी सेवाको बिस्तारमा सरकारले प्राथमिकता दिइरहेको बताएका छन्। उनले पश्चिम सुर्खेतको साल्कोट बृहत् खानेपानी आयोजना उद्घाटन गर्दै आगामी एक वर्षभित्र नेपालका ५७ प्रतिशत नागरिकहरूलाई शुद्ध खानेपानी सेवाको पहुँचमा पुगाउने गरी सरकारले काम गरिरहेको बताएका हुन्।
उनले भने, ‘नेपालमा अहिले शुद्ध खानेपानीको पहुँच २७ प्रतिशत नागरिकहरूमा मात्र छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा शुद्ध खानेपानी सेवा बिस्तारलाई महत्वका साथ लिएको छ। हाम्रो लक्ष्य भनेको अबको एक वर्षभित्र नेपालमा शुद्ध खानेपानी सेवा २७ प्रतिशत नागरिकमा रहेको तथ्याङ्क बढाएर ५७ प्रतिशतमा पुगाउने हो।’
मन्त्री यादवले अब खानेपानीमा हुने फुटकर योजनाहरू नबनाइने बताए। ३ करोडभन्दा मुनिका योजना संघीय सरकारले नबनाउने गरी नीति लिएको उनले बताए। साभारःअन्नपूर्णपोष्ट

