वीरगन्ज,६जेठःवीरगन्जमा रहेका सरकारी कार्यालयहरुमा बेथिती ,अनियमितता र भ्रष्टचार व्याप्त रहेको भन्दै नेकपा एमालले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको ध्यानाकर्षण गराएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापननपत्र बुझाउँदै एमालेको वीरगन्ज महानगरपालिका कमिटीले सरकारी कार्यालयहरुमा व्याप्त रहेको बेथिती ,अनियमितता र भ्रष्टचार रोक्न मागपनि गरेको छ ।
एमाले वीरगन्ज महानगरक कमिटीका अध्यक्ष नवराज शर्माले बुझाएको ज्ञापनपत्रमा भनिएको छ – वीरगन्जका सरकारी कार्यालयहरुमा बेथिती,अनियमितता र भ्रष्टचार व्याप्त छ ।समस्याको पोको बोकेर सरकारी कार्यालयमा धाउदाँ धाउँदै जनताहरु आजित छन् । सरकारी कार्यालयहरुमा बिचौलियाहरुको बोलबाला छ । भ्रष्टचार र अवैध कार्यहरुबाट सरकारी कार्यालय र त्यहाँका कर्मचारीहरु गन्हाएका छन् । बिना पैसा र कमीशन जनताको कामै हुदैन ।
वीरगन्जमा रहेका यातायात व्यवस्था कार्यालय , मालपोत कार्यालय ,नापी कार्यालय, विद्युत प्राधिकरण, वीरगन्ज भन्सार कार्यालय लगायत जनतासंग प्रत्यक्ष सरोकार राख्ने एक दर्जनभन्दा बढी सरकारी कार्यालयहरुमा बेथिती र भ्रष्टचार मौलाएको एमालेको भनाई छ ।यस्तै प्रहरी कार्यालयमा पनि दबाब र प्रभावमा परेर पिडितलाई थप पिडित बनाउने काम हुदै आएको भन्दै एमालेले भइरहेका विकास निर्माणका काममा भ्रष्टचार व्याप्त रहेको , ती कार्यको गुणस्तरीयता नभएको र अनुगमनपनि नहुने गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ– जनताले कर तिर्ने ।राज्यले कर लिने । जनताको करबाट तलब सुविधा लिने तर त्यहि जनतालाई सेवा सुविधा दिनुभन्दा पनि त्यहि जनतालाई चुस्ने काम हुदै आएको छ ।स्वास्थ्य सेवापनि सहज र सुलभ छैन । स्थानीय सरकार कहाँ छ ? ।
वीरगन्जमा रहेका सबै कार्यालयमा विद्यमान बेथिती र भ्रष्टचार रोक्न तथा कर्मचारीको व्यवहार र आचरणमा सुधार ल्याउनका लागि पहल गरिदिन एमाले प्रमुख जिल्ला अधिकारी अर्यालसंग आग्रह गरेको छ । यदि आँफुहरुको माग सम्बोधनका लागि पहल नभएमा एमाले आँफै त्यसलाई रोक्न अगाडि सर्ने अध्यक्ष शर्माले जनाएका छन् ।
सरकारी कार्यालयहरुमा अहिले विद्यमान बेथिती र विकृति अन्त्य तथा कर्मचारीको व्यवहार सुधारका लागि केहि दिन पर्खिने भन्दै एमालेले त्यसपछिपनि सुधार नभएमा एमाले आन्दोलनको घोषणा गर्न बाध्य हुने चेतावनीपनि अध्यक्ष शर्माले दिएका छन्।
एमालेले प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापनपत्र बुझाउने क्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, नेकपा एमालेका नेता तथा वीरगन्जका पूर्व मेयर विजय सरावगी लगायतकाकोपनि उपस्थिती थियो ।