Madhes Khabar
स्थानिय

वीरगन्जकाे नयाँ बसपार्कबाट बेवारिसे गाडीहरु हटाइँदै, पार्किङमा पनि कडाई

वीरगन्ज,२४बैशाख: वीरगन्ज महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रमा फैलिएको जथाभावी पार्किङलाई व्यवस्थित गर्न कडाइका साथ अभियान सुरु गरेको छ ।

पछिल्लो समय बस, सुमो तथा अन्य सार्वजनिक सवारीसाधनहरू मनपरी रूपमा पार्किङ गरिँदा बसपार्क अस्तव्यस्त बन्न थालेको गुनासो आम नागरिक तथा यात्रुहरूबाट आएको थियो । पार्किङ अव्यवस्थाले यात्रुहरूलाई आवतजावतमा अप्ठ्यारो हुने, ट्राफिक जाम सिर्जना हुने र सार्वजनिक स्थानमा अव्यवस्था बढ्ने जस्ता समस्या देखिन थालेपछि महानगरले टोली परिचालन गरी व्यवस्थापनको पहल थालेको हो।

महानगरपालिकाको टोलीले लामो समयदेखि संचालनमा नरहेका र बेवारिसे रूपमा बसपार्कमै छाडिएका दुई वटा बसहरूलाई क्रेनमार्फत डोरीले तानेर हटाएको छ । ती बसहरू कुनै चालक वा सवारीधनीको सम्पर्कबिना बसपार्कमै थन्क्याइएको अवस्थामा थिए । यसरी सवारी साधनहरू छाडेर बेवास्ता गर्नेलाई कारबाही गर्ने चेतावनी पनि महानगरले दिएको छ।महानगरका मेयर राजेशमान सिंहले बसपार्क सार्वजनिक सम्पत्ति भएकाले यसलाई व्यवस्थित, सुरक्षित र यात्रु–मैत्री बनाउने दायित्व महानगरले लिएको स्पष्ट पारे।उनले बसपार्कको संचालनमा संलग्न साझेदार संस्थालाई आवश्यक निर्देशन दिँदै सवारी साधनहरू निश्चित स्थानमा मात्र पार्किङ गर्न र अव्यवस्थित रूपमा गाडी नछोड्न अनुरोध गरे।

त्यसैगरी, बसपार्कको सरसफाइमा पनि विशेष ध्यान दिइएको छ ।फोहोरमैला व्यवस्थापनदेखि दैनिक सरसफाइसम्मका कामलाई थप प्रभावकारी बनाउन महानगरले सरसफाइ कर्मचारी तथा निगरानी टोली परिचालन गरेको छ।यात्रुहरूको सुविधा, स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै सार्वजनिक स्थानमा स्वच्छता कायम राख्न महानगर प्रतिबद्ध रहेको सरसफाई तथा हरियाली संयोजक प्रकाश खेतानले बताए।उनका अनुसार यो अभियानलाई एकदिने क्रियाकलापको रूपमा नभई निरन्तर चलाइनेछ ।

Related posts

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगभित्रै वीरगन्ज महानगरले आजपनि लगेर थुपारिदियो फोहोर

MadhesKhabar

समयमा बजेट नल्याएका पर्साका चार पालिकाले पाउने अनुदान रकममा कटौती हुने

MadhesKhabar

वीरगन्ज १५ मा सडक निर्माणमा असहयोग गर्नेहरुको पक्की घरमा चल्यो महानगरको डोजर

MadhesKhabar

Leave a Comment