Madhes Khabar
स्थानिय हेडलाइन

सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन महानगर र उद्योग वाणिज्य संघ संयुक्तरूपमा लाग्ने

वीरगन्ज,१९बैशाख:वीरगन्जको सिर्सिया नदीकाे प्रदूषण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले सुरु गरेको अभियानमा अब वीरगन्ज उद्योग वाणिज्य संघ पनि सहकार्य गर्दै अघि बढ्ने भएको छ।

शुक्रबार वीरगन्ज महानगरपालिकामा आयोजित छलफल कार्यक्रममा महानगरका मेयर राजेशमान सिंह र वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमसहितको उपस्थिति रहेको थियो । कार्यक्रममा संघले सिर्सिया नदी संरक्षण तथा समग्र वातावरण सुधार अभियानमा सक्रियरूपमा हातेमालो गर्ने प्रतिबद्धता जनाएको हो ।

छलफलमा मेयर सिंहले सिर्सिया नदी वीरगन्जको पर्यावरणीय र ऐतिहासिक सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण र पुनर्जीवनमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको बताए । उनले भने, “सिर्सिया नदी हाम्रो सासजस्तै हो । यसको अस्तित्व संकटमा पर्नु वीरगन्जको भविष्यमाथि खतरा हो । औद्योगिक फोहोर, नालाको अव्यवस्थित प्रवाह र जनसहभागिताको अभावले नदी मृतप्रायः बन्दै गएको छ । यसलाई जोगाउन अब हरेक तहबाट पहल हुनुपर्छ।”

मेयर सिंहले महानगरपालिकाले नदीको स्रोत संरक्षण, फोहोर व्यवस्थापन, जैविक पुनरुत्थान तथा जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको जानकारी पनि दिए।साथै, हाल महानगरले अभियानकै रूपमा सञ्चालन गरिरहेको व्यवसाय कर, बहाल कर र सम्पत्ति कर तिर्ने अभियानमा उद्योग वाणिज्य संघको सहयोग रहने अपेक्षा उनले व्यक्त गरे । “नक्सा पास नगरी संरचना निर्माण नगर्ने प्रवृत्तिको विकास गर्नु आजको आवश्यकता हो । त्यसमा उद्योग वाणिज्य संघले नेतृत्वदायी भूमिका खेल्नुपर्छ,” उनले भने ।

उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पनि संघ सिर्सिया नदी सफाइ अभियानमा महानगरसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जनाए ।उनले उद्योगहरूले वातावरणमैत्री प्रविधिको प्रयोग, फोहोरको उचित व्यवस्थापन र स्पष्ट कार्ययोजना बनाउने प्रक्रियामा अघि बढ्ने जानकारी दिए।उनले भने, “पर्यावरणीय उत्तरदायित्वप्रति संघ गम्भीर छ । सिर्सिया नदीमा प्रदूषणको एक हिस्सा औद्योगिक फोहोर हो भन्ने हामी स्वीकार गर्छौं । अबदेखि हामी वातावरणमैत्री प्रविधि अपनाउने, फोहोर व्यवस्थापनमा सुधार ल्याउने र महानगरसँग सहकार्यमा प्रष्ट योजना बनाउनेछौं ।”

अध्यक्ष गौतमले कर प्रणाली र भवन निर्माण सम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा संघले भरपुर सहयोग गर्ने पनि बताए । “कानुनी राज्यको सबल पक्ष भनेकै समयमै कर तिर्ने र नक्सा पास गरेर मात्रै संरचना निर्माण गर्ने अभ्यास हो । हामी त्यसको कार्यान्वयनमा दृढ छौं,” उनले भने ।

 

छलफलको प्रारम्भमा महानगरका मेयर सिंहले हालै निर्वाचित अध्यक्ष गौतम तथा उनको टोलीलाई कार्यकक्षमा स्वागत गरेका थिए।

कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, वातावरणविद् र अन्य सरोकारवालाहरूले सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवलाल राजपाल, महासचिव शिवजी प्रसाद साह, नरेस टिबडेवाल, अनुप अग्रवाल, प्रेमचन्द गोयल लगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Related posts

वीरगन्ज १५ मा सडक निर्माणमा असहयोग गर्नेहरुको पक्की घरमा चल्यो महानगरको डोजर

MadhesKhabar

पोखरियाको सतवरीयामा ५०५ घरपरिवारलाई सिलिण्डरसहितको ग्याँस चुल्हो वितरण

MadhesKhabar

वीरगन्ज १० मा वडाअध्यक्षकाे पहलमा बाेरिङ जडान भएपछि स्थानीयवासी हर्षित

MadhesKhabar

Leave a Comment