काठमाडौं,२असारःनेपाल पब्लिक क्याम्पस संघले आज देशभरका सामुदायिक क्याम्पस बन्द गरेको घोषणा गरेको छ ।संघले बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनाको छानबिनमा दबाब दिन आज (आइतबार) देशभरकाा सामुदायिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो ।
संघले एक विज्ञप्ति निकाल्दै दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याई कारबाही गर्न सरकारलाई माग गरेको छ । ‘बाँच्न पाउने नागरिकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस् र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस् भनी ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
आगामी दिनमा यस्ता अमानवीय घटनाको पुनरावृत्ति नहोस् र राज्य तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षणका लागि नेपाल पब्लिक क्याम्पस संघले देशभरि क्याम्पसहरूको पठनपाठन आज एक दिनका लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कुशवाहाको गत शुक्रबार अज्ञात समूहले घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्श कोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि गोली हानी हत्या गरेका थिए । गोली लागि गम्भीर घाइते भएका कुशवाहाको उपचारका क्रममा वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो ।साभार : ईकान्तिपुरबाट