वीरगन्ज,१९ कात्तिकः भारतबाट राजस्व छलेर भित्रयाइएको ३२ लाख बढीको माछा लोड रहेको एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुत्त,m टोलीले वीरगन्ज महानगरपालिका– २५ आईसीपी सडकखण्डबाट प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको टाटा कम्पनीको सेतो कालो रंगको मालवाहक ट्रक रोकेर चेकजाँच गरेको थियो । त्यसक्रमा उक्त ट्रकमा ९६ क्यारेट माछाको मात्र भन्सार प्रज्ञापन पत्र रहेको र उक्त ट्रकमा रहेको आवश्यक कागजातहरूमा उल्लेखित परिमाण भन्दा ४४ क्यारेट माछा बढी लोड रहेको भेटिएको प्रहरीले जनाएको छ । त्ययसपछि माछासहितको उक्त ट्रक र त्यसका चालक वीरगन्ज– २१ घर भएका २३ वर्षीय रवी कुमार साहलाई नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
बरामद माछा र ट्रकको गरी ३२ लाख ११ हजार ३९२ रुपैयाँ मूल्यांकन गरेर थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बिहीबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

