काठमाडौं,१९बैशाख:भारतको उडिसा राज्यकाे भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको शंकास्पद मृत्युप्रति परराष्ट्रमन्त्री आर्जु राणाले दु:ख व्यक्त गरेकी छन्।
परराष्ट्र मन्त्रालयले घटनालगत्तै बिहीबार राति नै भारत सरकार, उडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेकोसमेत उनले बताएकी छन् ।
केआईआईटी विश्वविद्यालयमा बिटेक प्रथम वर्षमा अध्ययनरत वीरगन्ज-१५ कि १९ वर्षीया प्रिशा बिहीबार साँझ हाेस्टेलमा मृत भेटिएकी थिइन्।
‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको छ। प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’सो घटनाबारे परराष्ट्रमन्त्री राणा सामाजिक सञ्जालमा लेख्छिन्,’परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ।’ साभार:देशसञ्चार

