Madhes Khabar
अर्थतन्‍त्र

९ महिनामा नेपालमा २५ अर्ब बराबरको १६ लाख स्मार्ट मोबाइल फोन आयात

काठमाडौं,१८बैशाखः चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा नेपालमा १५ लाख ८४ हजार स्मार्ट मोबाइल फोन आयात भएका छन्। मोबाइल फोन डिजिटल पहुँचको प्रमुख साधनका रूपमा स्थापित भएसँगै आयात दरमा निरन्तर वृद्धि भएको देखिन्छ।

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरका १५ लाख ८४ हजार ९ सय ५६ वटा स्मार्टफोन आयात गरिएको छ। यसबाट सरकारलाई ४ अर्ब ७३ करोड १५ लाख रुपैयाँ राजस्व प्राप्त भएको भन्सार विभागको तथ्यांक छ।

मासिक औसत २ लाख स्मार्टफोन नेपाल भित्रिएको देखिन्छ। धेरैजसो फोन चीनबाट आयात हुने गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा नेपालमा ७ करोड ७१ लाख ६२ हजार रुपैयाँ बराबरका २१ लाख ४ सय २६ थान सिम कार्डपनि आयात भएको देखिन्छ। यसबाट सरकारले १ करोड ९१ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको पछिल्लो तथ्यांकअनुसार नेपालमा छिमेकी चीन र भारतसहित विभिन्न १३ देशबाट सिम कार्ड आयात हुने गरेको छ।

यस अवधिमा १ करोड ४ लाख ४९ हजार रुपैयाँ बराबरका १८ हजार ९ सय ३१ किलोग्राम रिचार्ज कार्ड आयात गरिएको छ। १ लाख ८० हजार ८ सय ६० वटा मेमोरी कार्ड आयात गरिएको छ भने ८ लाख ४१ हजार ८ सय ८९ वटा स्मार्ट कार्ड नेपाल भित्र्याएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालबाट एउटा स्मार्टफोन, ४०९ वटा स्मार्टवाच, ६ वटा मोबाइल फोन चार्जर, ३१ वटा मल्टिपल लाउडस्पिकर, ३ वटा भिडियो रेकर्डिङ डिभाइसलगायत निर्यात भएका छन्।

ल्यापटप र नोटबुक ९ वटा निर्यात भएको र त्यसको कुल निर्यात मूल्य ४ लाख ६८ हजार रुपैयाँ रहेको भन्सार विभागको तथ्यांक छ। यी ल्यापटप वा नोटबुक ५ थान भारतमा र एक–एक थान अस्ट्रेलिया, इटाली, जापान र नेदरल्यान्ड्स निर्यात भएका छन्।साभारः कान्तिपुर

 

Related posts

लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो ‘ठोरी छोटी भन्सार’

MadhesKhabar

वीरगन्जका सुनचाँदी पसलहरुमा अनुगमन टोली पुग्दा पसल नै बन्द गरेर व्यपारीहरु भागाभाग्

MadhesKhabar

खाना पकाउने एलपी ग्याँसकाे मुल्य सिलिन्डरमा १३० रुपैयाँ घट्याे

MadhesKhabar

Leave a Comment