वीरगन्ज,१७बैशाखःपर्साको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादवले वीरगन्जमा बुधबारमात्रै स्थानीय प्रशासनले अबदेखि विहेबारी,उत्सव,धार्मिक तथा सांस्कृति कार्यक्रममा आशीशबाजी र पटाका पड्काउन बन्देज लगाउन गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।
बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले विहे,छेका(टीकाटालो),ब्रतबन्ध,उत्सव,धार्मिक तथा सांस्कृतिक कार्यक्रममा आतिशबाजी र पटका पड्काउन बन्देज लगाउने तथा राति १०बजेपछि डिजे बजाउन नपाइने निर्णय गरेको थियो ।
उक्त निर्णयले मधेसी समुदायको रितिरिवाज र संस्कृतिमा प्रहार भएको भन्दै गाँउपालिका अध्यक्ष यादवले उक्त निर्णयप्रति आपत्ति जनाएका हुन् । यादवले उक्त निर्णय हचुवाको भरमा लिइएको र सामाजिक–सांस्कृतिक दृष्टिकोणले असान्दर्भिक भएको टिप्पणीपनि गरे ।
उनले भने, “मधेसी समुदायको विवाह प्रायः ढिलो हुन्छ, राति १० बजेपछि बारात(जन्ति) निस्कने परम्परा छ । यस्तोमा डिजेमा प्रतिबन्ध लगाउनु सान्दर्भिक छैन ।”साथै हिन्दुहरुको अष्टयाम,हनुमान,भजनर्कित आरधनाजस्ता धार्मिक कार्यक्रममापनि रातिअबेरसम्म धार्मिक गीतसंगीत बजाइने गरेको भन्दै अध्यक्ष यादवले स्थानीय प्रशासनको उक्त निर्णय हिन्दु संस्कृतिमाथिको पनि प्रहार रहेको बताए ।
यादवले भने,‘ विहेको बारातमा खुशीयाली मनाउन आशीतबाजी नगरेर कहाँ गर्ने त ? डिजे बजाएर नाचगान गरेर रमाइलो नगरेर अरु कहाँ गर्ने त ? त्यसैले त्यो निर्णय हाम्रो समाज र संस्कृति विरुद्ध छ। त्यसलाई सच्याउन जरुरी छ ।’जिल्लाका स्थानीय सरकारका जनप्रतिनिधीहरुलाई बैठकमै नराखेर गरिएको निर्णय वीरगन्जमात्रै नभई पर्सा जिल्लामै कहिपनि लागू हुन नसक्ने तर्क उनले गरे ।

