काठमाडौं,१७बैशाखःआम जनता पार्टी (आजपा)ले श्रेणीविहिन तल्लो तहमा काम गर्ने कर्मचारीहरुको स्थायी पदपुर्तीका लागि विज्ञापन खुलाउन माग गर्दै लोक सेवा आयोगमा ज्ञापनपत्र बुझाएको छ । आयोगमा ज्ञापनपत्र बुझाउदै आजपाले आफूहरुको माग सम्बोधनमा कुनैपनि बहानामा नजर अन्दाज गर्ने दुस्प्रयास भएमा कडाभन्दा कडा संघर्षका कार्यक्रमहरु लिएर सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।
काठमाडौंको कमलपोखरी स्थित लोक सेवा आयोगको कार्यालयमा पुगेर आजपाका नेताहरुले आयोगका अध्यक्ष माधवप्रसार रेग्मीलाई ज्ञापनपत्र बुझाउदै यथाशिघ्र श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपुर्तीका लागि विज्ञापन खुलाउन माग गरेका हुन् ।
आजपाका प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा गएको टोलीले आयोगका अध्यक्ष रेग्मीलाई ज्ञापनपत्र बुझाउदै आफूहरुको माग यथासिघ्र पुरा नगए कडा सडक आन्दोलनमा उत्रिने चेतावनी दिए । आजपाको ज्ञापनपत्र बुझदै आयोग आयोगका अध्यक्ष रेग्मीले भने, ‘यो हाम्रो क्षेत्राअधिकारीभित्र पर्दैन् । सरकारले कर्मचारी मागे अनुसार हामीले विज्ञापन खुलाउने हो । तर तपाईहरुको माग जायज छ, यसका लागि म पहल गर्छु ।’
लोक सेवा आयोगले गरिब, निमुखालाई सरकारी स्थायी जागिरबाट बञ्चित गर्न नमिल्ने आजपा नेतृ रञ्जु साहले बताईन् । ‘लोक सेवा आयोगले १२ कक्षा भन्दा माथिको मात्र बिज्ञापन गर्छ । यो गरिबसंग सरासर विभेद हो । सरकारी जागिरमा गरिबलाई निषेध गर्नु उचित होइन् । गरिबबाट काम गराउने तर स्थायी नगर्नु न्यायोचित होइन्,’आजपा नेतृ साहले भनिन् ।
सरकारी अस्थायी करार तथा ज्यालादारी संघर्ष समितिका अध्यक्ष श्याम सापकोटाले आजपाको पहलकदमी सराहनीय भएको बताए । ‘आजपाको यो कार्य हामी सबैका लागि राम्रो पहलकदमी हो । यसमा समर्थन सहित धन्यवाद छ ।’
‘विगत लामो समयदेखी सवारी चालक, कार्यालय सहयोगी, सुरक्षागार्ड (पाले), मालि, मेस्तर, हुलाकी, हलकारा, सरसफाई कर्मचारी (स्वीपर) जस्ता श्रेणीविहिन तल्लो तहमा काम गरिरहेका कर्मचारीहरुलाई स्थायी नगरिदा उहाँहरुको ग्रेड (तह) बृद्धि तथा सेवानिवृत÷पेन्सनको सुविधा वा लाभबाट बञ्चित भई दासत्वको जीवन बाच्न बाध्य हुनुपरेको छ,’ आजपाले आयोगलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपुर्तीका नहुँदा जागिर सुरक्षाको अभावले गर्दा मनोवैज्ञानिक तनावमा बृद्धि भई भविष्य नै अन्योल र जीवनयापन कष्टकर एवं दुर्दशापूर्ण बन्ने गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए ।
लामो समयसम्म श्रेणीविहिन तल्लो तहका कर्मचारीको स्थायी पदपुर्तीका लागि विज्ञापन नखोलिदा आम श्रमजीवि जनता विभिन्न शोषण एवं विभेदको शिकार बन्नु परेको आजपाले जनाएको छ ।