वीरगन्ज,१४पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुश गर्नु मात्र नभएको बताएका छन्। एमाले पर्सा जिल्ला कमिटीले आज सखुवा प्रसौँनीकाे ओैराहा पचगावामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका ओलीले जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक रहेको बताएका हुन्।
‘हामी क्रान्तिकारी हौँ। क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ। मधेसका मसिहा भन्ने पार्टीका नेताहरुले विकास निर्माणमा नभई संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे। हामी त्यस्तो गर्दैनौँ। मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्व दिएका छौँ।’
उनले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको बताए। ओलीले अहिलेको सरकारले देशको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तनका लागि कटिबद्ध रहेको बताए।
‘ यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस्।’, प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन। व्यवहारबाट पुष्टि भइसकेको छ। देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो। मलाई विश्वास छ मधेस प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ।’
उनले स्थानीयबासीको मागबमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नती गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालयपनि स्थापना गरिने विश्वास दिलाए।
प्रधानमन्त्री ओलीले बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिला दिदीबहिनीहरुलाई सामाजिक र राजनीतिकरुपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गरे। उनले महिला र युवालाई अत्याधिकरुपमा परिचालन नगरेसम्म जनतामा भिजेको बलियो पार्टी बनाउन नसकिने भएकाले त्यस अनुसार काम गर्न स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिए।

