
वीरगन्ज,१४बैशाखःसहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दर्ता मुद्दा जिल्ला प्रहरी कार्यालय पर्साले ५ महिनाको अनुसन्धान पश्चात जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ ।
लामिछानेविरुद्ध दर्ता भएको तीन वटा मुद्धा मध्ये दुई वटाको मात्रै अनुसन्धान सकेर प्रहरी प्रतिवेदन गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
लामिछानेविरुद्ध सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराध गरी तीन वटा मुद्धा दर्ता भएकोमा सहकारी र संगठित अपराध सम्बन्धि मुद्धाको अनुसन्धान सकाएर प्रहरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको लम्सालले बताए । सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्धाको अनुसन्धान भने जारी नै रहेको उनले बताए ।
अनुसन्धानका क्रममा वीरगन्जको सानोपाइला बचत तथा ऋऋण सहकारी संस्थामा लामिछानेसहितको संलग्नतामा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ २९ पैसा रकम अपलचन भएको पुुष्टि भएको उनले बताए ।
त्यसैले लामिछानेसहित ३० व्याक्ति, ३ वटा सहकारी र ८ वटा विभिन्न कम्पनि गरी ४१ जनालाई प्रतिवादी बनाएर २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ २९ पैसा बिगो माग दाबी गर्दै प्रहरीको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइएको लम्सालले बताए ।
जसमा कम्पनी र व्यक्तिको उत्तरदायित्वतर्फ १ अर्ब १२ करोड ६५ लाख २६ हजार ३ सय ९५ रुपैयाँ रहेको उनले जानकारी दिए । यस्तै सानोे पाइला सहकारीबाट स्वर्ण लक्ष्मी बहुउद्देश्य सहकारी संस्थामा १ अर्ब १५ करोड ९१ लख ४४ हजार, सुर्यदर्शन सहकारी संस्थामा १ करोड २० लाख र आसा एण्ड इन्टरनेशनल प्रालिमा ३७ लाख ३० हजार ३७९ रुपैयाँ गैरकानूनी रुपमा गएको देखिएको लम्सालले बताए ।त्यसैकारण उक्त बराबरकाो रकम ती व्याक्ति, संस्था र कम्पनिले तिर्नुपर्ने प्रहरी प्रतिवेदनमार्फत माग गरिएको लम्सालले मधेसखबरलाई बताए ।
प्रहरीका अनुसार, वीरगन्जको सानोपाइला सहकारीमा रकम बचत गरेका ४३८ बचतकर्ताहरुले आँफुहरुको रकम अपचलन गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता गराएका थिए । प्रहरी नायब उपरीक्षक लम्सालका अनुसार, सुरुमा २०८० साल साउन २१ गते ५२ जनाले, २०८० सालकै भदौ २२ गते २०७ जनाले र २०८१ साल फागुन २ गते १७९ जना बचतकर्ताले सानो पाइलाले रकम अपचलन गरेको भन्दै लामिछानेसहित विभिन्न व्यक्तिलाई प्रतिवादी बनाएर जाहेरी दर्ता गराएका थिए । तर त्यस बेला सहकारी ठगीमात्रै अनुसन्धान थालेको प्रहरीले पछि संसदीय छानबिन समितिले सम्पति सहकारी ठगीसंगै शुद्धिकरण र संगठीत अपराधमापनि छानबिन गनुपर्ने प्रतिवेदन सार्वजनिक गरेपछि पर्सा प्रहरीले ती तीन वटै मुद्धामा अनुसन्धान गरेको मधेसखबरलाई लम्सालले बताए ।
लामिछानेलाई सहकारी ठगी लगायतका प्रकरणमा अनुसन्धानका लागि पर्सा प्रहरीले गत मंसिर २४ गते पोखराबाट पक्राउ गरेर वीरगन्ज ल्याएको थियो । मंसिर २५ गते उनलाई पर्सा जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याएर उनिसंग ४ घण्टा बयान लिइएको थियो ।त्यसैदिन बयान सकिएपछि लामिछानेलाई हवाईमार्गबाट प्रहरीले काठमाडौं लगेको थियो ।

