Madhes Khabar
समाचार

पर्सामा रवि लामिछानेविरुद्ध किन रोकियो मुद्दा ?

फाइल तस्बिर ।

काठमाडौं,२०चैतःराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले पाँच जिल्लामा एकसाथ अनुसन्धान सुरु गरे पनि पर्साको सानो पाइला सहकारी मुद्दाको अनुसन्धान प्रतिवेदन थन्क्याएर राखिएको छ । अन्य चार जिल्लामा रवि धरौटीमा छुटेपछि गृह मन्त्रालयकै निर्देशनअनुसार पर्सामा भने मुद्दा रोकिएको हो । यो विषयमा लामिछाने आफैँले सार्वजनिक रूपमा प्रश्न उठाएका छन् ।

वीरगन्जको सानो पाइला सहकारीबाट गोर्खा मिडियामा पैसा गएको भन्दै रविमाथि अनुसन्धान भएको थियो । पाँच महिनाअघि नै उनलाई पर्साको वीरगन्ज ल्याएर बयानसमेत लिइएको थियो । यसअघि कास्की, काठमाडौं, रूपन्देही र चितवन सबै जिल्लामा रविविरुद्ध मुद्दा दर्ता गरेलगत्तै अदालतमा उपस्थित भई धरौटीमा छुटेपछि पर्सामा भने मुद्दा दायर गर्न सरकार हच्किएको हो ।

वीरगन्ज महानगरपालिका– ६, आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको विषयमा यसअघि नै दुईपटक जिल्ला अदालत पर्सामा मुद्दा दर्ता भइसकेको छ । पहिलोपटक २३ असोज २०८० मा सहकारीका वर्तमान तथा पूर्वपदाधिकारी गरी १३ जनालाई प्रतिवादी बनाई सहकारी ठगी मुद्दा दर्ता गरिएको थियो । पछि २ फागुन २०८० मा अर्को मुद्दा पूरक अभियोगका रूपमा दर्ता भएको थियो । पूरक अभियोगमा पनि प्रतिवादी १३ जना छन् ।

सुरु अभियोगमा ४९ जनाको मात्र जाहेरी थियो भने पूरकमा १७९ जनाको जाहेरी राखेर पूरक अभियोग चलाइएको थियो । सहकारीबाट गोर्खा मिडिया नेटवर्कको बैंक खातामा साढे आठ करोड जम्मा गरेको विषय सुरुमै देखिए पनि ‘प्रमाण अभाव’का कारण गोर्खा मिडियाका तत्कालीन प्रबन्ध सञ्चालक रवि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन । सहकारीबाट गोर्खा मिडियामा पैसा लैजाने प्रक्रियामा उनको कतै पनि सम्बन्ध भेटिएको थिएन ।

तर, संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि सरकारको आदेशमा रविको नाममा किटानी जाहेरी दिन लगाई अनुसन्धान थालिएको थियो । पर्सा प्रहरी स्रोतका अनुसार गत पुसमै अनुसन्धान पूरा भए पनि फाइल रोकिएको छ । अझै केही विषय बुझ्न बाँकी भएकाले सरकारी वकिल कार्यालयमा अनुसन्धान नबुझाइएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । साभारः नयाँपत्रिका

Related posts

बाराको अमलेखगन्जमा २ सय ३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

MadhesKhabar

वीरगन्ज उद्योग वाणिज्य संघकाे वाणिज्य समिति सदस्यमा आकाश सर्राफ मनाेनित

MadhesKhabar

वाइ वाइ चाउचाउकाे मालामाल स्किममा उपहारको लोभ देखाएर ग्राहकलाई झुक्याइएको आरोप

MadhesKhabar

Leave a Comment