
काठमाडौं,१९चैतःराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाएका छन्।
मंगलबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसंगको भेटका क्रममा लामिछानेले यस्तो आरोप लगाएका हुन्। ’पर्साको विलम्बलाई कसरी हेर्नुभएको छ’ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले तीनकुनेको घटनाझैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको टिप्पणी गरे।
सभापति लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए। उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद भएकाले संसदमा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए। संसदको विषय संसदबाट नै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको बताए।
सभापति लामिछानेले भने, ‘सांसद, जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद नै हो। सदनको यो सेसनको पहिलो दिनमा नै मैले प्रक्रियागत रूपमा सम्माननीय सभामुखज्युलाई निवेदन नै दिएको थिएँ। कानुनको मक्सद यो होइन, राजनीतिक प्रतिशोधका कारणले म जन्मनुभन्दा अगाडिको मेरो हजुरबुबाको सम्पत्तिलाई पनि कसुर मानेर, मेरो विवाहभन्दा अघिको श्रीमतीको सम्पत्तिलाई पनि कसुर मानेर खाली सांसद पद कसरी निलम्बन गर्न सकिन्छ भन्ने दूषित मनशाय राखि दर्ता मात्र गरिएको, अदालतको ढोकामा टेकाइएको मुद्दाका आधारमा निलम्बन हुनु हुँदैन भनेर कानुनी कुरा राखेको थिएँ।’
सभापति लामिछानेले आफू अदालती प्रक्रियाको सम्मान गर्दै सबै मुद्दा टुंगिउन् भन्ने उद्देश्यले केही समय राजनीतिक कार्यक्रमहरूमा नदेखिएको बताए। पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रूपमा प्रयोग गरिरहेको जिकिर गरे।
उनले तीनकुने घटना पनि सरकारको तर्फबाटै भएको टिप्पणी गरे। उनले सबैकुरा देखिसकेपछि सरकार घटना छोप्न लागेझैँ पर्साको आफ्नो विषयमा छोप्ने प्रयासमा लागेको बताए।साभारःनागरिक

