काठमाडौं,१५चैत:काठमाडौंको तीनकुनेमा शुक्रबार भएको राजवादीहरुकाे आन्दोलनका कमान्डर दुर्गा प्रसाईं सम्पर्कबिहीन भएका छन्।
शुक्रबार राति साढे ११ बजेसम्म पनि उनलाई प्रहरीले फेला पार्न सकेको छैन।
शुक्रबारकाे हिंसात्मक आन्दोलनमा होमिएका रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपालसहितका नेताहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ।
राजसंस्था पुनः स्थापनका लागि संयुक्त जनआन्दोलन निर्देशन समितिका संयोजक नवराज सुवेदीलाई पनि प्रहरीले घरभित्रै निगरानीमा राखेको छ।
प्रसाईंको पनि प्रहरीले खोजी गरिरहेको छ। तर उनी सम्पर्कबिहीन भएका छन्।
खोजीमा लागेका एक जना प्रहरी अधिकारीका अनुसार उनको खोजी गर्न विभिन्न ठाउँमा प्रहरी परिचालन भएको छ। उनले मोबाइल पनि अफ गरेर भागेको ती प्रहरीले बताए।
`उनको मोबाइल पनि अफ नै गरेर बसेको छ। धेरै टाढा गएको छैन कि भन्ने छ,’ उनले भने, ‘सुरूमै घरमा प्रहरीको निगरानी हुने भयो। अन्त पनि सम्भावित ठाउँहरूमा खोजी भइरहेको छ।’
प्रहरी स्रोतका अनुसार उनको अन्तिम ‘लोकेसन’ गैरीगाउँकै थियो।
प्रहरीले त्यस क्षेत्र आसपास र तीन वटै जिल्लामा परिचालन गरेको छ।
तीनकुनेमा भएको उग्र प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको छ।
उक्त घटनापछि सामाजिक सञ्जालमा लेख्दै आफूलाई जहाँ बोलाए पनि हाजिर हुन तयार रहेको भन्दै टिप्पणी लेखेका थिए।साभार:सेताेपाटी

