वीरगन्ज,३ चैतःवीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत साउनदेखि फागुनसम्म ८ महिनामा वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ७७.८ प्रतिशत मात्र राजस्व संकलन गरेको हो । भन्सार विभागले उक्त ८ महिनाका लागि वीरगन्ज भन्सार कार्यालयलाई १ खर्ब ४० अर्ब ३५ करोड ४२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।
यस्तै गत फागुन महिनामा मात्र वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ७९ प्रतिशत अर्थात १४ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । फागुन महिनामा भन्सार विभागले १८ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।
त्यस्तै वीरगन्ज नाकामै रहेको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक बर्षको ८ महिनामा लक्ष्यको ८३.११ प्रतिशत अर्थात ३२ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सुक्खा बन्दरगाह भन्सारलाई गत साउनदेखि फागुनसम्म ८ महिनाका लागि भन्सार विभागले ३८ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।।

