काठमाडौं,९फागुनःभारतको ओडीसा राज्यको भुवनेश्वरस्थित कालिंगा ईन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयकी छात्रा प्रकृति लम्साललाई मृत्युअघि निर्घात कुटपिट भएको दाबी उनका साथीहरुले गरेका छन् ।
ओडीसाबाट भागेर नेपाल आएका केआईआईटीमा अध्ययरत नेपाली विद्यार्थीहरुले प्रकृतिको शरीरका विभिन्न भागमा चोट देखिएको बताएका हुन् ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रकृतिको मृत्यु अपरान्ह भएपनि त्यसअघि नै आरोपित भारतीय युवा अद्भिक श्रीवास्तव भाग्न खोज्नु शंकास्पद भएको बताए ।
होस्टेलको कोठा फुटाएर प्रकृति भएको ठाउँसम्म पुग्दासमेत केटी साथीहरुले श्रीवास्तवसंग भिडियोमा कुराकानी गरिरहनुले पनि उनको मृत्युपछि धेरै कारण रहेको नेपाली विद्यार्थीहरुको दाबी छ ।
पत्रकार सम्मेलनमा उनीहरुले भने, ’ढोका फोडेर दिदीको शवसम्म पुग्दा पनि केही केटीहरुले अद्भिक श्रीवास्तवसँग भिडियोमा कल गरिरहेका थिए । दिदी साँझ मृत भेटिनुभयो तर उसले कसरी दिउँसो नै बाहिर भाग्नका लागि प्लेनको टिकट बुक गर्यो ? यसमा अनुसन्धान हुनु पर्दैन ?’
पाँच जना छात्राहरुसँगै नेपाल आएका एक विद्यार्थीले प्रकृतिको शव, उनको शरीरमा भएको चोट, पासो लगाउनुअघि विष सेवन गरेको कुरा आफूलाई भनेको उल्लेख गरे ।प्रकृतिसंगै पढ्ने र होस्टेल बस्ने अन्य नेपाली छात्राहरु मानसिकरुपमा विक्षिप्त रहेको बताउँदै प्रहरीलाई खबर नगरी होस्टेलका वार्डेनसहित मिलेर गोप्य बाटोहुँदै प्रकृतिलाई आफ्नै अस्पताल किङ्समा लगेर उपचारको बहाना गर्नु शंकास्पद भएको दाबी उनिहरुले गरे ।
उनले भने, ’ठ्याक्कै भन्न त म सक्दिँन तर ढोका फुटाएर भित्र छिर्दा प्रकृति दिदी जिउँदै हुनुहुन्थ्यो रे । दिदीलाई उपचारका लागि लैजान छाडेर वार्डेनहरुले भिडियो बनाउन थाले । डोरी खोल्न दिएनन् । पछि त्यहाँ उपस्थित सबैलाई आआफ्नो कोठामा पठाएर, होस्टेलभरी धुँवा लगाएर मात्र दिदीको पासो खोलेर चोर बाटो हुँदै आफ्नै अस्पताल लगियो । सफा नियत थियो भने त प्रहरीलाई बोलाइन्थ्यो होला नि ? घटना लुकाउन वार्डेनहरु माहिर देखिए ।’
प्रकृतिलाई अस्पताल लैजानेक्रममा अर्की नेपाली छात्रा जबरजस्ती सँगै गएको र एम्बुलेन्समा बसेका समय उनले प्रकृतिको शरीरभरी चोट देखेको ती विद्यार्थीको भनाइ छ । प्रकृतिमाथि मानसिक तनाव उच्च रहेको दाबी गर्दै उनले डिसेम्बरमा केटासाथीसँगको सम्बन्ध टुटेपनि अद्भिक श्रीवास्तवले लगातार ब्लाकमेल गर्ने गरेको बताए ।साभारःनागरिक

