
बारा,२६माघ:बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरकाे शान्तिटाेलस्थित मामाघर बाट १० दिन अघि बेपत्ता भएका ३ बर्षिय का बालकको शनिबार शव फेला परेको छ ।
रौतहटको दुर्गा भवानी गाउँपालिका–१ का ३ वर्षीय हन्श चौधरी नाम गरेका बालकको शव शनिबार फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बालक अंश चाैधरीको शव वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को सिमानामा पर्ने टेढामा स्थित कियासोती खोलामा डुबेको अवस्थामा फेला परेको बताए।
बेपत्ता बालकको खोजी गर्न प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो।
आफ्नो मामाघरबाट बेपत्ता भएका बालक अंश बारे जानकारी दिनेलाई पीडित परिवारले १ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको थियो । त्यसैगरी बारा-४ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ किसानले पनि बेपत्ता बालकको अवस्थाबारे सूचना दिने मानिसलाई व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ इनाम दिनेसमेत घोषणा गरेका थिए ।
प्रहरी नायब उपरीक्षक सापकोटाले बालकको पानीमा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान भएपनि पोस्टमार्टम रिपोर्ट आएपछि विस्तृत खुल्ने जानकारी दिएका छन्।
मृतक बालक रौतहटकाे दुर्गा भगवती–१ का रितेश जैसवालका छोरा थिए। उनको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको बारा प्रहरीले जनाएको छ।

