काठमाडौं,२६माघ: खानेपानीमन्त्री प्रदीप यादवले आगलागीबाट आफ्नो कार्यकक्षका सामान जलेर नष्ट भएपनि महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताएका छन्। काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमाको चौथो तलामा शनिबार बिहान आगलागी भएको हो।
शुक्रबार बेलुकादेखि नै तार जलेको गन्ध आएकाले त्यसलाई विचार गर्न आफूले भनेको र बिहान आगलागीको दुखद घटना भएको उनले बताए। आगोलागि भएको तलामा खानेपानी मन्त्रीको कार्यकक्ष समेत रहेको थियो। बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको थियो।
मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। मन्त्री यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।
यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन ।
प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण आउन बाँकी रहेका प्रहरीले जनाएको छ।

