Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सामा एचपिभी खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीमाथि खोप केन्द्रमै हातपात, दुई जना पक्राउ

वीरगन्ज,२४माघः पर्सामा जारी महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेहरुमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवाका ३५ बर्षीय प्रमोद पटेल र ३५ बर्षीय मन्जय गिरी रहेका छन् । उनिहरुलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको छ ।

माघ २२ देखि पर्सामा पनि जारी एचपिभी खोप अभियान अन्तर्गत पोखरिया–१ बनकटवास्थित आधारभूत स्वास्थ्य केन्द्रमा स्थापना गरिएको खोप केन्द्रमा बिहीबार पुगेका पटेलले कक्षा ३ मा पढ्ने आफनी छोरीलाई उक्त खोप लगाउन दबाब दिएका थिए ।

तर खोप केन्द्रका ईन्चार्जसमेत रहेका अहेब शोशील कुमार महतोले अभियान अन्तर्गत कक्षा ६ देखि कक्षा १० सम्मका बालिका र किशोरीलाई मात्र एचपिभी खोप लगाइने भएकाले पटेलककी छोरी उक्त लक्षित उमेर समुहमा नपर्ने भन्दै खोप लगाउन अस्वीकार गरेका थिए । त्यहि निहुँमा पटेल र गिरीले अहेब महतो र वडा कार्यालयका सचिवलाई गाली गलौज गर्दै हातपात गरेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।

खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मी र वडा सचिवमाथि हातपात भएपछि प्रहरीलाई खबर गरिएको र प्रहरीले पटेल र गिरी दुवैलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा लगेको ठाकुरले जानकारी गराए ।

स्वास्थ्यकर्मी र वडा सचिवमाथि हातपात गर्ने दुबै जनालाई नेपालको प्रचलित कानून अनुसार कारबाही हुनुपर्ने आँफुहरुको माग रहेको ठाकुरले बताए ।हातपात गर्नेहरुलाई कारबाही नगरिए खोप अभियनमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल खस्किने भन्दै उनले यसले खोप अभियानमै असर पनि पर्न सक्ने बताए ।

ठाकुरले भने,‘यदि दोषीहरुलाई कानून अनुसार कारबाही भएन भने स्वास्थ्य कार्यालयले खोप अभियानमा असहयोग गर्ने व्याक्ति वा निकायविरुद्ध कारबाहीका लागि माथिल्लो निकायमा पत्रचार गर्छ ।’

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने आरोपित दुवै व्याक्तिलाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए । पिडित पक्षले लिखित जोहरी दिएपछि जाहेरीमा उल्लेख कसूर अनुसार नेपालको प्रचलित काननु बमोजिमको मुद्धा दर्ता गरेर आवश्यक प्रकृया अगाडि बढाइने लम्सालले बताए ।

 

Related posts

नवनियुक्त मुख्यमन्त्री सिंहको राजनीतिक यात्रा : पार्टी फेर्दै पालिका अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

MadhesKhabar

रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता

MadhesKhabar

ठाकुरराम क्याम्पसमा चैत मसान्तभित्रै स्ववियु निर्वाचन गराउन थालियाे पहल

MadhesKhabar

Leave a Comment