वीरगन्ज,१८माघःत्रिभुवन विश्व विद्यालयले आगामी चैत ५ गतेका लागि घोषणा गरेको स्ववियु निर्वाचनका लागि वीरगन्जको ठाकुरराम बहु्मुखी क्याम्पसमा नेपाल विधार्थी संघ(नेविसंघ) ले तयारी थालेको छ ।
त्रिभुवन विश्व विद्यालयले देशभरका आंगीक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको छ । त्यसैक्रममा ठाकुरराम बहुमुखी क्याम्पसमापनि स्ववियु निर्वाचनको वातावरण बनाउनुका साथै निर्वाचनको तयारीमा नेविसंघ जुटेको हो ।
देशका अन्य क्याम्पसमा हरेक ३ बर्षमा स्ववियु निर्वाचन हुदैं आएपनि ठाकुरराम क्याम्पसमा भने विगत १५ बर्षदेखि स्ववियु निर्वाचन विभिन्न कारण देखाएर हुन सकेको छैन । तर यसपालि भने ठाकुरराम क्याम्पसमा जसरी भएपनि स्ववियु निर्वाचन हुनु पर्ने अडानमा नेविसंघ रहेको छ ।
त्यसैको तयारीका लागि शुक्रबार नेविसंघका नेता विकास मण्डलको अगुवाईमा क्याम्पसमा निर्वाचन लक्षित छलफल कार्यक्रम गरिएको छ ।छलफलमा नेपाली कांग्रेस वीरगन्ज महानगरका सभापति मणिन्द्रलाल श्रेष्ठ नेपालीले क्याम्पसमा स्ववियु निर्वाचन भएमात्रै विधार्थीका समस्या सम्बोधन हुनेभएकाले निर्वाचन सम्पन्न गराउन सबैपक्ष अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिए ।
यस्तै कांग्रेसका युवा नेता तथा नेविसंघ पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले ठाकुरराम क्याम्पसमा लामोसमय देखि स्ववियु निर्वाचन हुन नसक्दा विधार्थीहरुको समस्या सम्बोधन हुन नसकेको बताए । विधार्थीबाट निर्वाचित जनप्रतिनिधी नभएकै कारण क्याम्पसमा नियमित पठन पाठन हुन नसकेको , पुस्तकालयको अवस्था दयनिय रहेको ,शौचालयपनि व्यवस्थित नभएको जस्ता यावत समस्याहरु रहेको उनले बताए । त्यसका कारण यसपालिका निर्धारित समयमै स्ववियु निर्वाचन हुनुपर्नेमा उनले जोड दिए ।
नेविसंघ पर्साका सभापति रमेश यादवले यसपालि ठाकुरराम क्याम्पसमा पहिलेको जस्तो यो वा त्यो बहाना गरेर स्ववियु निर्वाचन हुन नदिने चलखेल गरिए त्यसको प्रतिवाद नेविसंघले गर्ने बताए । चैत ५ मा ठाकुरराम क्याम्पसमा हुने निर्वाचनमा नेविसंघलाई विजयी बनाउने गरी अहिलेदेखि नै सबै लाग्नुपर्ने उनले बताए ।
उक्त छलफल कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य रामनिवस यादव, नेपाल तरुण दलका केन्द्रिय सदस्य रोशन सिंह,नेविसंघका केन्द्रिय सदस्य सुरेन्द्र लामिछाने,कांग्रेस युवा नेता बाबुनन्द कुर्मी,पुरुसोत्तम कुर्मी,जय नेपाल चौरसिया,अजयेन्द्र मण्डलका साथै क्याम्पसमा अध्ययनरत विधार्थीहरुकोपनि सहभागीता थियो ।