वीरगन्ज,१५ मंसिरः नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि पर्सा जिल्लाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधिहरु चयन गरिएका छन् ।जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट गरी ३५ जना महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत चयन गरिएको एमाले पर्साका सचिव महेश दासले जानकारी दिए ।
३५ महाधिवेशन प्रतिनिधिका लागि ९३ जनाको उम्मेदवारी परेको थियो । सकेसम्म मतदान नगरी सर्वसम्मत नै महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रयास नेताहरुको थियो ।जुन सफल पनि भयो । जसअनुसार, सोमबार बिहानसम्म चार वटै निर्वाचन क्षेत्रबाट सबै महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत चयन भएको सचिव दासले जानकारी दिए ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्मा, वीरगन्ज महानगर अध्यक्ष नवराज शर्मा, वीरगन्ज महानगरका पूर्वमेयर विजय सरावगी,राजेन्द्र यादव ,सबिता गिरी,बसरुद्धिन अन्सारी,मुना दाहाल,रन्जु फुयाँल र महम्मद निजाम महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
यस्तै क्षेत्र नम्बर २ बाट मनोज कुमार कुशवाहा,उसमान मियाँ अन्सारी,जयनारायण कुर्मी,लियाकत अली,रमीला खातुन,सीता लामा र सन्तोष कुमार पासवान तथा क्षेत्र नम्बर ३ बाट पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान, उपमेयर रुबीकुमारी ठाकुर, पूर्वमन्त्री प्रमोद जयसवाल, पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरी,उर्मीला देवी ,सविना खातुन र रविकुमार गुप्ता महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
यसैगरि क्षेत्र नम्बर ४ बाट जगरनाथपुर गाँउपालिकाका पूर्वअध्यक्ष जालिम मियाँ,ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मी, एमाले जिल्ला उपाध्यक्ष मनोज कुमार गुप्ता,वीरेन्द्र यादव,अंशु आनन्द र सुभाष कुमार साह महाधिवेशन प्रतिनिधि चयन भएको जिल्ला सचिव दासले जानकारी दिए ।
यसैगरि दलिततर्फबाट सुरेश पासवान,मेघराज हजरा पासवान,अनिलकुमार हजरा र परमशीला देवीपनि महाधिवशेन प्रतिनिधिमा सर्वसम्मत चयन भएको दासले जानकारी दिए ।
केपी ओली तिरका कति जना ?
पर्साबाट ३५ जना महाधिवेशन प्रतिनिधि चयन भएकोमा संस्थापन (अध्यक्ष केपी ओली ) पक्षको बर्चश्व देखिन्छ । तर महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान हुदाँको अवस्थामा भने पर्साबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुमध्ये धेरै जना ओलीको विपक्षमा खुलेरै आउने केन्द्रिय सदस्य अरविन्द सिंहले बताए ।
उनले भने,अहिले पर्सामा महाधिवेशन प्रतिनिधि चयनमा संस्थापन पक्षको बर्चश्व रहन गएको जस्तो लाग्न सक्छ। तर महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि चुनाव हुने बेला भने पर्साको अवस्था बिल्कुल फरक र अप्रत्याशित हुन्छ । मतदानका बेला पर्साबाट चयन भएका महाधिवेशन प्रतिनिधिमध्ये १० देखि १२ जना अध्यक्ष केपी ओलीको विपक्षमा खुलेरै आउँछन् । त्यो संख्या अझ बढ्ने पनि सम्भावना छ ।
जिल्लाबाट चार केन्द्रिय सदस्यमध्ये अरबिन्द सिंह मात्रै संस्थापन इतर पक्षका हुन् भने अरु तीन जना केन्द्रिय सदस्यहरु पूर्वमन्त्री राजकुमार गुप्ता, पूर्व सांसद प्रभु हजरा र निर्मला देवकोटा भने संस्थापन पक्षका मानिन्छन् ।

