Madhes Khabar
राजनीति हेडलाइन

बारा २ मा चलेन रास्वपाको जादु , एसपी खरेलको जमानत समेत जफत

वीरगन्ज,१३ बैशाख : बैशाख १० मा भएको निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको जमानत जफत भएको छ ।उपनिर्वाचन भएको अन्य दुइ क्षेत्र तनहुँ १ र चितवन २ मा ऐतिहासिक जित हात पारेको रास्वपाले बारा २ मा भने आफना उम्मेदवारको जमानत जोगाउनपनि सकेन ।

बारा २ मा बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेदवार रमेश खरेल सहित ३१ जना उम्मेदवारको जमानत जफत भएको हो ।

निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । बारा २ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार आइतबार भएको मतदानमा ६९ हजार २२ मत खसेकोमा मतगणनाका क्रममा ६८ हजार १९२ मत सदर भएको थियो । त्यसमा रास्वपाका उम्मेदवार खरेल चौथो स्थानमा रहदै २ हजार ८ सय २९ मत मात्रै पाए । कूल सदर मतको ४.१४ प्रतिशत मात्रै मत पाएकाले उनको जमानत जफत भएको हो ।

बारा २ मा दलका १० र स्वतन्त्र २४ गरि कूल ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । ती मध्ये तीन जना उम्मेदवारले मात्र १० प्रतिशत मत कटाएका छन् । बारा २ मा विजयी भएका सत्तागठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मत पाएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए । भने नेकपा एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मतका साथ तेश्रो स्थानमा सिमित भए ।खरेल सहित ३१ जना उम्मदवारको भने जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरूण कुमार ज्ञवाली २ हजार ७३८ मतका साथ पाँचौ स्थानमा रहेपनि उनलेपनि जमानत जोगाउन सकेनन् ।

यस्तै जमानत जफत हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद साह तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेपाल मजदुर किसान पार्टीका मुक्ति प्रसाद यादव ,नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमारसंगै स्वतन्त्र सबै २४ जना उम्मेदवारको पनि जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए ।

Related posts

विमान दुर्घटनाको शाेकमा मधेस प्रदेश सभामुखकाे मतदान स्थगित

MadhesKhabar

वीरगन्जको अलौंमा कौडाको खालबाट चार जुवाडे पक्राउ

MadhesKhabar

पर्सामा १० केजी चरेससहित चितवनका तामाङ पक्राउ

MadhesKhabar

Leave a Comment