
वीरगन्ज,१६माघःपर्साको ठोरी–२ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय वनशक्ति टाउनप्लानमा कार्यरत विद्यालय कर्मचारी कलबहादुर गुरुङको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
ठोरी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले दुर्घटनामा घाइते भएका गुरुङको उपचारका लागि १ लाख २३ हजार २ सय ३० रुपैयाँ सहयोग गरेका हुन् ।नेपाल शिक्षक महासंघ ठोरीको पहलमा गाउँपालिकाभित्रका २१ व्टा विद्यालयका शिक्षकहरूबाट संकलित रकम शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले घाइते गुरुङको परिवारलाई हस्तान्तरण गरेका हुन् ।
यहि माघ ४ गते मोटरसाइकल दुर्घटनामा घाइते भएका गुरुङको हाल वीरगंजस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेको खबर पाएपछि शिक्षक महासंघको नेतृत्वमा रकम संकलन गरी प्रदान गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ, उपाध्यक्ष गोपीलाल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक त्रिलोचन पराजुली, प्रधानाध्यापक झमक बहादुर श्रेष्ठ लगायतकाको पनि उपस्थिति रहेको थियो ।
त्स्बिर ः सामाजिक सञ्जाल

