Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सा जिल्लामा ३८ हजार किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप लगाइने

वीरगन्ज,१५माघः महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पी.भी.खोप पर्सा जिल्लामा ३८ हजार भन्दा बढी बालिका र किशोरीहरुलाई लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय पर्साका अनुसार, माघ २२ देखि सुरु भइ फागुन ६ गतेसम्म सञ्चालन हुने एच.पी.भी. खोप अभियान–२०८१ अन्तर्गत पर्सा जिल्लाका १४ वटै पालिकामा गरी ३८ हजार ५ सय ५७ जना बालिका र किशोरीहरुलाई लगाइने भएको हो । उक्त अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्ममा अध्ययनरत तथा विद्यालय नजाने १० देखि १४ वर्षसम्मका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइनेछ ।

मंगलबार वीरगन्ज महानगरपालिकाको जनस्वाथ्य प्रबद्र्धन शाखाले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण साहले माघ २२ गतेदेखि सुरु हुने एच.पी.भी. खोप अभियान पर्सा जिल्लामा दुई चरणमा सञ्चालन गरिने बताए ।

उनका अनुसार अभियान अन्तर्गत माघ २२ देखि माघ २८ गतेसम्म सञ्चालन हुने पहिलो चरणमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १६ सम्ममा,पर्सागढी र पोखरिया नगरपालिका,पटेर्वा सुगौली ,जिराभवानी,सखुवा प्रसौनी र जगरनाथपुर गाँउपालिकामा बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने छ ।

यस्तै माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने दोस्रो चरणको अभियानमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ देखि वडा नम्बर ३२ सम्म,बहुदरमाईनगरपालिका,पकाहा मैनपुर,कालिकामाई,धोबिनी,बिन्दवासिनी,छिपहरमाई र ठोरी गाँउपालिकामा लक्षित उमेर समुहका बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइने साहले जानकारी दिए ।

साहका अनुसार, जिल्लाका १४ पालिकामध्ये सबैभन्दा बढी वीरगन्ज महानगरपालिकामा १६ हजार ९ सय ४७ जना बालिका र किशोरीहरुलाई एच.पी.भी. खोप लगाइनेछ ।

एच.पी.भी. खोप अभियान अन्तर्गत जिल्लामा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयमा खोप केन्द्र स्थापना गरिने उनले बताए । अभियानको अन्तिम दिन फागुन ६ गते खोप लगाउन छुटेका बालिका र किशोरीहरुका लागि जिल्लाका हरेक वडामा रहेका स्वास्थ्य संस्थामा खोपकेन्द्र स्थापना गरेर एच.पी.भी. खोप लगाइने साहले बताए ।

नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सर औसतमा २ हजार १ सय ६९ जना महिलामा हुदैं आएकोमा तीमध्ये १ हजार ३ सय १३ जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनका मधेस प्रदेश प्रतिनिधी डाक्टर सुरेश शुक्लाले बताए । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक औसतमा चार जना महिलाको मृत्यु हुने गरेके जानकारीपनि उनले गराए ।

शुक्लाका अनुसार, गत वर्ष वीरगन्जको नारायणी अस्पतालमा सञ्चालन गरिएको खोपकेन्द्रबाट १ हजार ६ सय ८० जना बालिका र किशोरीहरुले एच.पी.भी. खोप लगाएका थिए ।

कार्यक्रममा सहभागी वीरगन्ज महानगरपालिकाका वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक लगायतकासंग स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहले माघ २२ गतेदेखि सुरु हुने एच.पी.भी. खोप अभियानलाई सफल पार्न आ–आफ्नो तर्फबाट लाग्न आग्रहपनि गरे ।

वीरगन्ज–४ का वडाध्यक्ष जगत साह कानुको अध्यक्षता तथा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. साहको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साकी जनस्वासथ्य निरीक्षक मल्लिका श्रेष्ठ, वीरगन्ज महानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाका अनिल यादव,सुमनचन्द्र ठाकुर,महानगरका वडाका वडाध्यक्षहरु,विद्यालयका प्राधनाध्यापक,शिक्षक,शिक्षिका,सञ्चारकर्मी लगायतकाकोपनि सहभागिता थियो ।

 

 

Related posts

यू–१९ विश्वकपमा पुग्न सफल क्रिकेटर साना र एसईईमा उत्कृष्ट रिया वीरगन्ज महानगरबाट सम्मानित

MadhesKhabar

वीरगन्जको उदयपुरघुर्मीमा १ कराेडकाे लागतमा स्वास्थ्य चाैकी भवन बन्दै,मेयर सिंहले गरे शिलान्यास

MadhesKhabar

पर्सामा कांग्रेसले भन्यो : जसपालाई तीन सिट दिन सकिन्न

MadhesKhabar

Leave a Comment