सिमरा,१४माघ :बाराको सिमराको नव–जनजागृति यूवा क्लब मधेस प्रदेश च्याम्पियन बन्दै एन्फा प्रेसिडेन्ट लिगका लागि छनौट भएको छ ।आइतबार महोतरीको जलेश्वर रंगशालामा सम्पन्न मधेस प्रदेश लिगको फाइनलमा सप्तरीको प्रोग्रेसिभ यूवा क्लबलाई २–० ले पराजित गर्दै नवजनजागृतिले आगामी चैतमा हुने एन्फा प्रेसिडेन्ट लिगमा मधेस प्रदेशको प्रतिनिधित्व सुनिश्चित गरेको हो ।
यसअघि २०८१ सालको बारा जिल्ला लिगमा पनि च्याम्पियन बन्दै नवजनजागृतिले प्रदेश लिगमा बारा जिल्लाको प्रतिनिधित्व गरेको थियो । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै नवजनजागृतिले पहिलोपटक एन्फा प्रेसिडेन्ट लिग खेल्नेछ ।
आइतबार भएको फाइनल खेलमा नवजनजागृति यूवा क्लब सिमराको जितमा विक्रम थोकर र अञ्जन बछारले समान १–१ गोल गरे । खेलको दोश्रो मिनटमै सिमराका विक्रम थोकरले सप्तरीविरुद्ध गोल गरेका थिए । प्रतिष्पर्धात्मक खेलको दोश्रो हाफमा सिमराले अञ्जन बछारको गोलबाट अग्रता दोब्बर बनाएको थियो । दोश्रो हाफमा सप्तरी विरुद्ध हावी भएको सिमराका अञ्जनले खेलको ५६ औं मिनटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच सिमराका रोहन तामांग घोषित भए । प्रतियोगिताको विजेता सिमराले ५० हजार र उपविजेता सप्तरीले २५ हजार रुपैयाँ प्राप्त गरेको नवजनजागृति यूवा क्लबका प्रथम उपाध्यक्ष शंकर थापाले जानकारी दिए ।

