माधुरी महतो
वीरगन्ज,१३माघःसार्वजनिक शौचालय मानिसको आधारभुत आवश्यकताभित्र नै पर्दछ । लामो दुरीको यात्रा होस् वा छोटो दुरीको यात्रा सार्वजनिक स्थलमा शौचालयको आवश्यतmा छ भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । तर जति महत्व बाटोघाटो निर्माण वा विभिन्न स्वागतद्वार बनाउन खर्च गरिन्छ त्यो भन्दा कम लागतमै सार्वजनिक स्थलमा शौचालय निर्माण गर्न सकिन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि हालसम्म सार्वजनिक शौचालयकै अभावको प्रभाव झेल्दै छन् खासगरी महिलाहरु ।
कुनै स्थानमा गल्तीले पनि एउटा पनि शौचालय पाईहाले , विशेषगरी महिनावारीको समय डस्टबिन नभएको र पानी नआउने वा पहेँलो पानी आउने शौचालय प्रयोग गर्नुपर्दा महिलाहरुलाई एकदमै तनाव हुन्छ ।
सार्वजनिक शौचालयको समस्याको नमिठो भोगाई मेरो आफ्नो पनि छ ।म मात्रै होइन, हरेक नेपाली महिलाले भोगिरहेका यही समस्या भोगिरहेका छन् । नेपालमा सार्वजनिक शौचालयको अवस्था देशैभर राम्रो नभएको अवस्था छ ।
बजार वा रेस्टुरेन्ट जाँदा महिलालाई शौचालयको सहज सुविधा नभएको अवस्था छ भने यात्रा गर्दापनि उत्तिकै समस्या भोग्नुपर्ने हुन्छ ।तराई–मधेसको खासगरी पुवै पश्चिम राजमार्गमा पर्याप्त संख्यामा होईन की सर्वाजनिक शौचालय नै छैनन्, भएका पनि छिर्नै नपरे हुन्थ्यो भन्ने खालका खण्डहर बनिसकेको अवस्थामा छन् , त्योपनि प्रयोग विहीन ।
देशकै प्रमुख व्यापारीक नाका तथा प्रवेशद्वा रहेको वीरगन्ज होस् वा राजधानी भनेर चिनिने काठमाडौंमा समेत सार्वजनिक शौचालय नै न्युन छन् । त्यसमापनि महिलामैत्री सार्वजनिक शौचालय त झन् कम छन् भन्ने कुरा सत्य नै हो ।
सार्वजनिक शौचालय प्रयोग गरेकाले नै शौचालयको फोहोरको कारण मानिसहरु बिरामी नै भएको अनुभव समेत छ भने ठुला ठूला मल र मार्टका शौचालय पनि फोहोर र घिनलाग्दा हुने गरेका छन् ।बाहिर सार्वजनिक स्थानमा शौचालय खोज्नु भनेको भगवान खोज्नु जस्तै जस्तै हुन्छ ।
दैनिक अरबौंको व्यापार हुने र सयौं व्यपारी तथा हजारौं उपभोक्ताको चहलपहल रहने पर्सा बारा , रौतहट , सर्लाही तथा मधेस प्रदेशका कुनै पनि जिल्ला तथा राजमार्गमा वा बजारमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारण सहित खासगरी महिलाहरुले समस्या भोग्नु परेको छ ।उतm स्थानहरुमा दर्जनौं विभिन्न व्यवासायिक एवं सामाजिक संघ संस्था र सरकारी कार्यालय रहेको भएपनि एउटा सार्वजनिक शौचालय नहुनु दुःखद भएको बजारमा आएकी वीरगन्जकी एक महिला ललिता देवी बताउँछिन् ।
‘धेरै चहलपहल भीडभाड हुने ठाउँ हो वीरगन्ज । तर सार्वजनिक शौचालयको नाममा एउटा मात्रै शौचालय छ घण्टाघर छेउमा, जसमा दिनभरी जसो भीडभाड नै हुन्छ । मानिसहरुको भीडभाड हुने ठाउमा कम्तीमा पर्याप्त सार्वजनिक शौचालय हुनुपर्छ नी । त्यसमा पनि पैसा तोकीएको छ । जो संग पैसा छैन उसले के गर्छ अनि पैसा तिरेर शौचालय जानुपर्ने बाध्यता हटाउनुपर्छ,’ भन्छिन् ललिता देवी ।
सार्वजनिक स्थानमा शौचालय नहुदा कुनै बेला निकै समस्या भोग्नु परेको वीरगन्जमा तरकारी खरिद गर्न आएकी शर्मिला राईले बताईन् । पुरुषको तुलनामा महिलालाई सार्वजनिक शौचालय नहुँदा बढी समस्या हुने गरेको राईको तीतो अनुभव छ । लामो समय दिसापिसाब रोक्नुपर्ने भएकाले बजार आउँदा वा यात्रा गर्र्दा खानापानी नै कम खाने गरेको उनले बताईन् ।
यस्तो समस्या पर्सामा पर्ने तराई मधेसकै एक मात्र महानगर वीरगन्ज महानगरपालिका लगायत तराई मधेसका जिल्लामा पर्ने पुर्वपश्चिम राजमार्ग अन्तर्गत यात्रा गर्दा खासगरी महिला यात्रीहरुलाई हुने गरेको छ ।
अन्यत्र यात्रा गर्दा बाटोमा सार्वजनिक शौचालय देखिइ हाले पनि पुर्वतिरका यात्रामा बाटो तथा सडकमा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा खासगरी महिला यात्रीहरुलाई समस्या हुने गरेको गुनासो उनीहरुले गरेका छन् ।उनीहरुले महिलालाई शौचालय नभएकै कारण समस्या भईरहदा पनि सरकार मैहिलामैत्री नभएकै कारण हालसम्म शौचालय व्यवस्थापन जस्ता कुरामा ध्यान दिन नसकेको उनीहरुले गुनासो गरेका छन् ।
देशका अधिकांश जिल्ला तथा स्थान खुल्ला दिसामुक्त घोषणा भइसक्दापनि पुर्वतिरका राजमार्गमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणका साथै खासगरी महिला यात्रुरु सास्ती भोग्न बाध्य छन् । यात्राकै क्रममा सार्वजनिक यातायातमा भेटीएकी सप्तरीकी.सिता देवीले भनिन्,‘धेरै नै समस्या हुने गरेको छ नी हामी महिलालाई । बाटोमा महिलाहरुका लागि उपयुक्त सार्वजनिक शौचालय छैन । अनि पिसाब लागिहाल्छ की भनेर कम पानी खाने गरेका छौँ यात्रा गर्दा ।’
यात्रा गर्दा सार्वजनिक शौचालय नभेटेपछि होटेल छिर्नु बाहेक विकल्प नरहेको तर सबै होटलमा पनि शौचालयमा जान सक्ने अवस्था नहुँदा कतिपय सडकको छेउको झाडीमा पुग्नुपर्ने , जंगलभित्र पस्नुपर्ने बाध्यता रहेको गुनासो गर्छिन् प्रियंका थापा ।
स्वच्छ खानेपानी र सरसफाइ संविधानको मौलिक अधिकार भित्र पर्छ । तर हालसम्म कुनै पनि ठाउँमा सार्वजनिक शौचालय निर्माण हुन नसक्दा गर्भवती महिला , तथा किशोरी , वृद्धाहरुलाई सास्ती खेप्नुपरीरहेको भनाई छ सर्लाहीकी राधिका कुमारी कुशवाहाको ।
उनी थप्छिन् ,‘यात्रा गर्दा त पानी नै खान्न म शौचालय जानुपर्यो भने काँहा जाने भनेर चिन्ता लागेर । तर हामी महिलाको लागि त धेरै बेर पिसाब रोक्नु पनि राम्रो त होईन तर लागिहाल्यो भने समस्या हुन्छ हामीलाई । जंगलको छेउमा जंगली जनावरको डर मात्र होईन हामी महिलालाई त कसैले दुव्यर्वहार गर्लान् की भन्ने डरभय पनि हुन्छ । कम्तीमा शैचालय त हुनुपर्छ नी ।’
विश्व स्वास्थ्य सङ्गठनका अनुसार शहरी क्षेत्रमा ३ सय मिटरको अन्तरालमा सार्वजानिक शौचालय हुनुपर्ने प्रावधान छ। नेपालका अधिकांश क्षेत्रमा उक्त प्रावधानको कार्यान्वयन त परै जाओस् दैनिक हजारौँ मानिस आउजाउ गर्ने अति व्यस्त राजमार्गका विभिन्न ठाउँमा पनि सार्वजनिक शौचालय छैनन्।
सार्वजनिक शौचालय नहुँदा यात्रा गर्दा दिसा–पिसाबले च्यापेकाहरूले समयमा दिसा–पिसाब न त्याग्ने हो भने रोगको सङ्क्रमण समेत हुने चिकित्सकहरु बताउँछन्। त्यसकारण सरकार तथा सम्बन्धित निकायका जनप्रतीनीधीले सार्वजनिक शौचालय निर्माण तर्फ समयमै ध्यान दिन जरुरी रहेको महिला यात्रुहरुको आग्रह छ ।
शौचालय वा चर्पीको प्रयोग मानिसका लागि आधारभूत आवश्यकतामा पर्ने गर्दछ। मानव जीवनशैली र सरसफाइका लागि शौचालयको आवश्यकता पर्दछ।
शौचालयलाई फोहर ठाउँका रूपमा हेरिने गरिए पनि सरसफाइमा वर्तमान सभ्यता र विकासमा भएका प्रयोगहरूका कारण अब फोहर शौचालय हैन संक्रमणरहित, सफा र आकर्षक शौचालय बनाउनुपर्ने आवश्यकता देखिएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै प्रत्येक वर्ष १९ नोभेम्बरका दिन विश्व शौचालय दिवस पनि मनाउने गरिन्छ।
सार्वजनिक स्थलमा निर्माण गरिएका शौचालय मात्र नभएर विभिन्न अस्पताल, विद्यालय, मठमन्दिर, सपिङ मल तथा सरकारी कार्यालयहरुमा निर्माण गरिएका शौचालय समेत महिलामैत्री छन् की छैनन् भन्ने कुरामा ध्यान दिन आवश्यक छ ।
सार्वजनिक शौचालयको प्रयोग विशेष गरी पैदल यात्रुहरूले गर्ने गरेका छन्। बसपार्क, तरकारी तथा अन्य सामान किनमेल हुने स्थान लगायतका व्यस्त क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा मानिसहरूले बाध्यताले जताततै दिसापिसाब गर्ने गरेको पनि पाइन्छ। जसले गर्दा वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पु¥याएको छ नै महिलाहरुले भने लामो समय दिसापिसाब रोकेर बस्दा उनीहरुमा जटिल किसिमको स्वास्थ्य समस्या समेत हुने गरेको बरीष्ठ डाक्टर उदय नारायण सिँह बताउँछन् ।
देश संघीय संरचनामा गएको करिब ८ वर्ष पुग्न लाग्दा समेत हालसम्म सबै स्थानीय तहले शौचालय निर्माण, व्यवस्थापन तथा सञ्चालनका लागि नीति, नियम तथा कार्यविधिको निर्माण गर्न सकेका छैनन्।यसको उपज नै हो की उनीहरुको स्थानमा पर्ने सार्वजनिक शौचालय उनीहरुको लागि हालसम्म प्राथमिकतामा पर्न नसकेको हो ।
डाक्टर सिँहका अनुसार अनुसार सामान्य रूपमा सार्वजनिक शौचालय सबैले देख्ने स्थानमा हुनुपर्ने तथा शौचालय अपाङ्गमैत्री, बालमैत्री, प्रयोगकर्तामैत्री र ज्येष्ठ नागरिकहरूलाई सहज हुने किसिमको हुनुपर्ने तथा खासगरी महिलामैत्री हुनै पर्ने उनको भनाइ छ।
शौचालयमा हात धुनका लागि सावुनपानीका साथै महिलाका लागि आवश्यक पर्ने स्यानिटरी प्याड र प्याड विर्सजन गर्ने स्थान र लुगा वा ब्याग झुन्ड्याउने स्थानको समेत व्यवस्था हुनुपर्छ ।
सार्वजनिक शौचालय व्यवस्थापन सधै चुनौतीपूर्ण बन्दै गएको अवस्थामा विश्वव्यापी दीगो विकासको लक्ष्यअन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ भने विश्वमा अझै दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ। हरेक १० मध्ये एक जनाले खुला ठाउँमा शौच गर्ने गरेको सर्वेक्षणमा उल्लेख छ।
नेपाललाई २०७६ साल असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिएको भएपनि कतिपय जिल्लामा अझै व्यवस्थित शौचालय छैनन् भने सार्वजनिक स्थलमा शौचालय निर्माण नहुँदा अझ पनि महिलाहरु खुला स्थानमा ,सडक छेउमा , जंगलमा शौच गर्न बाध्य छन् । जसले स्वास्थ्य समस्या मात्र नभई ती महिलाहरु दुव्यर्वहार र हिंसाको सिकार पनि बन्नुपरेको छ ।
तीव्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्ने क्रममा रहेकोले सरकारले शौचालय व्यवस्थापन सम्बन्धी नीतिनियम निर्माण गर्ने हो भने नेपालमा सार्वजनिक शौचालयको व्यवस्थापनमा देखिएको समस्या हल हुँदै जाने र निजी लगानीकर्ताहरू पनि आकर्षित हुने डाक्टर उदय नारायण सिँह बताउँछन् ।
सार्वजनिक शौचालय नगरको आवश्यकता मात्र होइन, सार्वजनिक शौचालय कुनै पनि स्थानको सांस्कृतिक पहिचान पनि हो । सडक, चोक, सडक बत्ती, सडक खानेपानी झैँ सार्वजनिक शौचालय पनि गाउँ तथा नगर व्यवस्थाको एउटा हिस्सा हो । हाटबजार, बसपार्क राजमार्ग लगायतका स्थानमा शौचालय आवश्यकता हो ।
देशमा सार्वजनिक शौचालयको संख्या कति छ भन्ने तथ्यांक सरकारसँग पनि छैन । जति बनेका छन् तिनको सञ्चालनमा पनि समस्या देखिन्छ ।आ–आफ्नो वडामा सार्वजनिक शौचालयको संख्या पर्याप्त छ कि छैन, नभएका स्थान पहिचान गरी सार्वजनिक शौचालय निर्माण गर्नु प्रत्येक वडा कार्यालयको सार्वजनिक नीति र सामाजिक आवश्यकता पनि हो । साथै सार्वजनिक शौचालयको निर्माण मात्र स्थानीय सरकारको दायित्व होइन, सार्वजनिक शौचालयको व्यवस्थापन पनि महत्त्वपूर्ण जिम्मेवारी नै हो । तर महिलालाई नै सुरक्षित शौचालयको सुविधा उपलब्ध छैन ।
खुलामा शौच जानुपर्ने बाध्यताका कारण महिला र बालिकाको इज्जत र सम्मानमाथि नराम्रो प्रभाव पार्ने गरेको छ ।र उनीहरूविरुद्ध हिंसा तथा बलात्कारजस्ता घटना पनि भएको अवस्था छ । यसरी सार्वजनिक शौचालयसँग लैङ्गिक समस्या पनि जोडिएको देखिन्छ । व्यवस्थित र महिलामैत्री शौचालय नहँुदा महिलाले दिनहुँजसो तनावपूर्ण जीवन बिताइरहनुपरेको छ ।
सार्वजनिक चोकहरूमा रहेका सार्वजनिक शौचालयहरू पनि महिलामैत्री हुँदैनन् ।बसको यात्रामा भेटीएकी सप्तरीकी रिमा कुमारी भन्छिन्,‘सार्वजनिक शौचालय महिला र पुरुषका लागि छुट्टाछुट्टै बनाए पनि महिला शौचालयमा न राम्रोसँग ढोका लाग्छ, न त पानीको व्यवस्था नै हुन्छ । त्यसैले यात्रा गर्दा बरु पिसाब च्यापेर बस्छु तर त्यो शौचालय पस्दिन ।’
नेपाल खुल्ला दिसामुक्त घोषणा भयो तर सार्वजनिक शौचालय नै छैन । महिला पुरुष सबलाई समस्या छ । नागरीक समाजको तर्फबाटपनि तीन वटै तहका सरकारलाई सार्वजनिक शौचालयको लागि दबाबमुलक पहल आवश्यक छ ।
सामाजिक संस्कारको विकास सामाजिक नेतृत्वले नै गर्ने भएकोले सामाजिक नेतृत्वले व्यवस्थाको सामाजिकीकरणमा ध्यान दिनुपर्ने तथा नागरिक संस्थाले नीति र व्यवस्थालाई समाजसम्म पुर्याई व्यवस्थापनमा आफ्नो भुमीका निर्वाह गनुपर्ने देखीन्छ ।

