वीरगन्ज,७माघःबाराको साविकको आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका)का तत्कालीन गाविस सचिव आस महमद अन्सारीविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्सारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँ बराबरको आर्थिक हिनामिना गरेको ठहर भएकाले उनिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अन्सारीले साविक साविकको आदर्श गा.वि.स. भवानीपुर जीतपुर (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको अख्तियारको आरोप छ ।
यस्तै सटरहरुबाट उपलब्ध भएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको आर्थिक वर्ष २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी बापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ नबुझाएको अख्तियारको आरोप छ ।

