Madhes Khabar
स्थानिय

वीरगन्जमा सदभाव खल्बल्याउने घटनाकाे छानबिन गरि दाेषीलाई कारबाही गर्न मन्त्री गुप्ताको निर्देशन

वीरगन्ज,३बैशाख:हनुमान जन्माेत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभा यात्राका क्रममा भएको झडपले सिर्जना गरेको तनाव र त्यसपछि विकसित घटनाक्रमप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण भएको छ ।

धार्मिक, साँस्कृतिक तथा जातीय विविधताबीच आपसी सम्मान र भाइचाराको भावना प्रकट गर्नु सबै नागरिकको मानवीय कर्तव्य भएको उल्लेख गर्दै मन्त्री गुप्ताले समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षबाट संयम र समझदारीको आवश्यकता रहेको बताएका छन् ।

झडपपछिको अवस्थालाई ध्यानमा राख्दै मन्त्री गुप्ता निरन्तर स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग सम्पर्कमा रहेको मन्त्री गुप्ताका प्रेस सल्लाहकार कृष्णप्रसाद कुशवाहाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घटनाका दोषीहरूलाई पहिचान गरी कानूनी दायरामा ल्याउन उनले प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

 

“कुनै पनि वहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य दुःखद र चिन्ताजनक हो । नागरिकहरूले एकअर्काको धार्मिक विश्वास र आस्थाप्रति सम्मान जनाउनु नै सहअस्तित्वको आधार हो,” मन्त्री गुप्ताले भनेका छन् ।

झडपपछि दुवै समुदायका प्रतिनिधिहरू र विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक बसेर घटनाको समिक्षा गरिएको थियो । उक्त बैठकबाट तयार भएको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रियालाई अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गरेका छन् ।

मुलुककै आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा परिचित वीरगन्जमा सामाजिक सद्भावमा खल्बल्याउने प्रयासप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले सबै वीरगन्जबासीलाई संयमित र सजग रहन अनुरोध समेत गरेका छन् ।

Related posts

सखुवा प्रसौनीका अध्यक्ष यादवले खोलाबाट नियन्त्रणमा लिए बालुवासहितको ट्याक्टर

MadhesKhabar

वीरगन्जको दशैं मेलामा गोल्डेनको हत्या प्रकरण : ‘खुनी दरिन्दे ग्याङ्ग’ ले हत्या गरेको खुलासा

MadhesKhabar

पर्साका पालिकाहरुबाट सुचना पाउन सकस रहेको सरोकारवालाहरुको गुनासो

MadhesKhabar

Leave a Comment