वीरगन्ज,०६माघःपर्साको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरुले आइतबारदेखि विद्यालयमा ताल्चा लगाएर त्यसको चाबी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाई दिएका छन् ।
६ महिनादेखि तलबभत्ता नपाएको भन्दै नगरपालिकामा रहेका २० वटा सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरुले आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअ अर्याललाई चाबी बुझाएका हुन् ।
बहुदरमाई नगरपालिकामा मेयर सिंगासन सा तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबीचको विवादका कारण नगरपालिकाका कर्मचारी,स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरुले गत साउनदेखि नै तलबभत्ता पाएका छैनन् ।मेयर तेलीले प्रमुख प्रशासकीय अधिकृत मुस्तफालाई आर्थिक कारोबारको अख्तियारी नदिएका कारण नगरपालिकाका कर्मचारी,स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरुले ६ महिनादेखि तलबभत्ता नपाएका हुन् ।
आइतबार नेपाल शिक्षक महासंघ पर्साको अगुवाईमा जुलुशसहित पुगेका शिक्षक–शिक्षिकाहरुले गत साउनदेखि पुससम्म ६ महिनाको र दशैं खर्च बापतको १ महिना गरेर ७ महिनाको तलबभत्ता नपाउँदा आँफुहरुको घर खर्च टार्नपनि समस्या परेको भन्दै बाध्य भएर विद्यालयमा ताल्चा मारेर त्यसको चाबी प्रमुख जिल्ला अधिकारी अर्याललाई जिम्मा लगाइ दिएको बताए ।
प्रजिअ अर्याललाई विद्यालयको चाबी बुझाउन पुगेका बहुदरमाई नगरपालिका–२ नगरदाहास्थित महावीर साह माविका शिक्षक पन्नालाल साहले भने,‘साउनदेखि नै तलबभत्ता पाएका छैनौं । भोको पेट कति महिनासम्म पढाउने ? अहिले त घरमा बालबच्चालाई मुखमा माड लगाउनपनि गाह्रो भइसक्यो ।अत्ति नै भएपछि बाध्य भएर आज स्कुलहरुमा ताल्चा मारेर चाबी सिडिओलाई बुझाई दियौं ।’
यस्तै बहुरमाई नगरपालिका–८ रामनगरीको मुखदेव सुशीला प्राविधिक माविका शिक्षक लक्ष्मीकान्त साहले पनि ६ महिनादेखि तलबभत्ता नपाउँदा घरपरिवारमा कोहि बिरामी पर्दा उपचार गराउनपनि नपाएको दुखेसो पोखे ।उनले भने,‘गाँउघरमा सरपाटी माँगेर अहिलेसम्म परिवार चलाइयो । अब त कसैसंग सापटी माग्नपनि लाज लाग्न थालेको छ । पैसा नहुदाँ परिवारका सदस्य बिरामी पर्दापनि उपचार गर्न सकिएको छैन ।’
६ महिनासम्म तलबभत्ता नआउँदा अहिलेसम्म जसोतसो गरेर थेगिएको तर अब थेग्नै नसक्ने अवस्था भएपछि बाध्य भएर विद्यालयमा ताल्चा मारेर चाबी प्रमुख जिल्ला अधिकारी अर्याललाई बुझाइएको उनले बताए । उनले भने,‘मेयर र हाकिमलाई हामीले पटक पटक गुहार्यौ । तर उनिहरु आँफनो जूगाँको लडाईमा छन् । त्यसैकारण जिल्लाको अभिभावक सिडिओ साबलाई स्कूलको चाबी बुझाइ दिएका हौं ।’
नगरपालिकाले ६ महिनादेखि विद्यालयहरुमा रकम निकासा नगरेकाले विद्यालयमा विद्यार्थीहरुलाई पढाउन चाहिने चकडस्टरपनि नभएको बहुदरमाई नगरपालिका–२ पिपराको नेराप्राविका शिक्षक मनोज पटेलले बताए ।उनले भने,‘स्कुलमा अहिले चक डस्टरपनि छैन । मेयर र हाकिमको आपसी लडाईले दुई सयभभन्दा बढी शिक्षक र विद्यालय कर्मचारी भोकभोकै पर्न थालेका छन् । ७ महिना भयो तलब नआएको । बाहिर पढ्न पठाएका छोराछोरीको शुल्क तिर्न नसक्दा उनिहरु घर फर्किने तरखरमा छन् ।बैंकमा ब्याज र किस्तापनि तिर्न सकेको छैन ।’
नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवका अनुसार,बहुदरमाई नगरपालिकाका शिक्षक–शिक्षिकाहरुको समस्याका बारेमा महासंघकै अगुवाई त्यहाँका मेयर र प्रमुख प्रशासकीय अधिकारीलाई भेटेर पटक पटक ध्यानाकर्षण गराइएको बताए । यस्तै महासंघकै अगुवाईमा गत पुसमा पनि प्रमुख जिल्ला अधिकारी अर्याललाई पनि ध्यानाकर्षण गराइएको तर कुनै सुनुवाई नभएको उनले गुनासो गरे ।
आइतबार शिक्षक–शिक्षिकाहरुले बुझाएको विद्यालयका चाबी जिम्मा लिदैं प्रमुख जिल्ला अधिकारी अर्यालले बहुदरमाई नगरपालिकाका शिक्षक र कर्मचारीहरुको समस्याबारे आँफुले यसअघि मेयर र प्रमुख प्रशासकीय अधिकृतका साथै त्यहाँका जनप्रतिनिधीसंग पटक पटक छलफल गरेको बताए । उनले भने,‘मैले यस विषयमा पटक पटक छलफल गरे तर कुनै उपलब्धी आउन सकेन । अब फेरि समस्या समाधानका लागि पहल गर्छु।मैले गर्ने यत्तिमात्रै त हो ।’
नगरपालिकामा रहेका २० वटा सामुदलायिक विद्यालयमा शिक्षक–शिक्षिकाहरुले आइतबारदेखि ताल्चा मारेर चाबी प्रमुख जिल्ला अधिकारीलाई बुझाइ दिएपछि ती विद्यालयका करिब १० हजार भन्दा बढी विद्यार्थीहरुको पठनपाठन ठप्प भएको वडा नम्बर २ का युवा नेता राकेश यादवले बताए । उनले भने,‘मेयर र हाकिमबीचको जुधाईमा शिक्षक र कर्मचारीमात्र नभई २० वटा स्कूलका १० हजार विद्यार्थीहरुको भविष्यसंग खेलवाड भइरहेको छ । यस्तो अराजकता जिल्लाको अरु कुनैपनि पालिकामा देखिएको छैन ।’
यसअघि तलब नपाएको भन्दै शिक्षकहरुले चरणबद्ध आन्दोलन गरेका कारण पठन पाठन प्रभावित भएपछि त्यसको आक्रोशमा गत पुस ५ गते बिहानै विद्यार्थीहरुको एक समुहसंगै बाहिरकापनि व्याक्तिहरुले नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनीसमेत गरेका थिए । जसका कारण नगरपालिकाको कार्यालयमा १ करोड भन्दा बढीको भौतिक क्षति भएको थियो ।
बहुदरमाई नगरपालिकाका मेयर तेलीले भने समस्या समाधानका लागि आँफु निरन्तर लागि रहेको बताए । उनले भने,‘अब छिट्टै शिक्षक र कर्मचारीहरुलाई परेको समस्या समाधान हुन्छ ।’
यता प्रमुख प्रशासकीय अधिकृत मुस्तफाले भने पुस ५ गते नगरपालिका कार्यालयमा तोडफोड र आगजनीको घटनाभएपछि प्रमुख जिल्ला अधिकारीको आग्रहमा त्यसदिनदेखि नै आँफु कार्यालयमा नगएको बताए । मेयर तेलीले आँफुलाई कार्यालयमा हाजीर नै हुन नदिने उर्दी जारी गरेको भन्दै उनले मधेसखबरसंग भने,‘यदि मलाई कार्यालयमै हाजीर हुन नदिने हो भने मेयर साबले आफ्नो हाकिम खोजेर ल्याए हुन्छ । मलाई कुनै आपत्ति छैन ।’ मेयर तेलीले नगरपालिकामा भाँडभैलो मच्चाएर काम गर्न नदिएपछि आँफु एक महिनादेखि नै त्यहाँबाट ब्याक भएको उनले बताए ।

