वीरगन्ज,२८पुसःथारु समुदायको महान् चाड खिचडी (माघी) पर्वको उपलक्ष्यमा वीरगन्जमा माघ १ गते थारु माघी समारोह आयोजना गरिने भएको छ ।
आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर खिचडी (माघी) मूल समारोह समितिले माघ १ गते वीरगन्जमा खिचडी (माघी) पर्व भब्य रुपमा मनाउन लागिएको बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा खिचडी (माघी) मूल समारोह समिति वीरगन्जका संयोजक प्रवीण कुमार चौधरीले माघ १ गते बिहान ११.३० बजे घण्टाघर चोकबाट थारु समुदायको संस्कृतिसहितको प्रभातफेरि सुरु भई आदर्शनगरको स्वीमीङ पूल परिसरमा पुग्ने , त्यहाँ थारु समुदायको संस्कृति झल्किने घाटो,समाचकेवा,झम्टा,थारु पूर्वी नाँच प्रदर्शन गरिने जानकारी दिए ।
यस्तै कार्यक्रमस्थलमा थारुका खानाका परिकारहरु घोंगी,माछा, गंगटा,परेवा,हाँस र कुखुराको मासु,चिचर,तिल र भूजाको लड्डु लगायतको स्टलपनि राखिने जानकारी उनले गराए ।
त्यहि दिन साँझ वीरगन्जमा मोटरसाइकल ¥याली निकालेर घण्टाघर चोकमा दीप प्रज्वलन कार्यक्रमसमेत गरिने संयोजक चौधरीले जानकारी दिए ।
खिचडी (माघी) समारोह आयोजनामा थारु कल्याणकारीणी सभा,थारु नागरिक समाज,मेलमिलाप थारु परिवार,प्रकाश फाएनडेसन,थारु शिक्षक संघ,थारु विद्यार्थी समाज गरी ११ वटा संघसंस्थाको संलग्नता रहने जानकारीपनि उनले गराए ।

