वीरगन्ज२६ पुस:वीरगन्ज महानगरपालिकाको नगरसभाकाे १६ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ।अधिवेशनमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले प्रेस गरेकाे विधेयक र प्रस्तावहरु सर्वसम्मतले पारित भएको छ।
अधिवेशनमा मेयर सिंहले पेस गरेकाे बार्षीक बजेट तथा कार्यक्रम रकमान्तरण, स्रोतान्तरण, बजेट थपघट एवं योजना तथा कार्यक्रम परिमार्जन गरी संशोधन गर्न बनेको विनियोजन विधेयक २०८१ सर्वसम्मतिले पारित भएको हाे।
यस्तै मेयर सिंहले पेस गरेको विज्ञापन कर सम्बन्धि विधेयक २०८१, वीरगन्ज महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी परिमार्जन सम्बन्धि प्रस्ताव र सहकारी ऐन २०७४ मा संशोधन गर्न बनेको सहकारी विधेयक २०८१ पनि अधिवेशनले पारित गरेकोे छ।
नक्सा पास नगरी महानगरमा निर्माण भएका पुराना घरको अभिलेखिकरण चैत मसान्तसम्म गराउँदा ५० प्रतिशत जरिबाना छुट दिने प्रस्ताव पनि अधिवेशनबाट पारित भएको छ।जरिबाना छुटको लाभ उठाउँदै निर्माण भएका संरचनाको अभिलेखिकरणका लागि आउँदो चैत महिनाभित्र निवेदन दिइसक्न सम्पूर्ण नगरबासीलाई मेयर सिंहले आग्रह पनि गरे।
नगरसभाकाे अधिवेशनलाई सम्बाेधन गर्दै मेयर सिंहले नगरबासीको चाहनालाई सम्बोधन गर्न सकिने गरि नगरसभाको १५ औं अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालु आर्थिक बर्षको संशोधित कार्यक्रम तयार पारिएको बताए।
मेयर सिंहले बैभव वीरगन्ज बनाउने अभियानमा वीरगन्जका जनप्रतिनिधीहरु एकजुट भएको र यसले आगामी दिनमा अझ जनताका समस्या समाधान गर्न आफूलाई थप उर्जा प्राप्त भएको बताए। सुन्दर, समुन्नत, समृद्ध र बैभवशाली वीरगन्ज निर्माण गर्ने लक्ष्यका साथ महानगरको टिम अगाडी बढेको पनि उनले बताए ।
मेयर सिंहकै अध्यक्षतामा भएकाे नगरसभाको १६ औं अधिवेशनमा महानगरका उपमेयर ईम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण,महानगरका ३२ वटै वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु,कार्यपालिका सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो ।

