वीरगन्ज,३माघ:फागुन २१ काे निर्वाचनका लागि नेकपा एमालेले बाराकाे निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री र निवर्तमान सांसद ज्वाला साहलाई फेरि उम्मेदवार बनाउने निर्णय गरेकाे छ।
शनिबार बेलुकी बसेकाे एमाले सचिवालय बैठकले बारा क्षेत्र नम्बर ३ बाट साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हाे।यसअघि गत पुस १९ गते क्षेत्र नम्बर ३ काे क्षेत्रीय कमिटीले भने चुनाव नै गरेर उम्मेदवार छान्दा साहकाे नाम थिएन।त्यसदिनकाे चुनावमा साह चाैथाे नम्बरमा परेपछि पहिलाृ, दाेस्राे र तेस्राे स्थानमा मत पाएका अध्यानन्द पाण्डे,एम समिउल्लाह र सिमा ठकुरीकाे मात्रै नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको थियाे।
तर शनिबार बेलुकी बसेकाे एमाले सचिवालय बैठकले भने क्षेत्रीय कमिटीको सिफारिसलाई उल्ट्याउँदै साहलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।साह, पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे विश्वासपात्र पनि हुन्।
यस्तै बारा क्षेत्र नम्बर १ बाट निवर्तमान सांसद अच्युत मैनाली, क्षेत्र नम्बर २ बाट बलवीर चाैधरी र क्षेत्र नम्बर ४ बाट निवर्तमान सांसद किसान श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

