Madhes Khabar
राजनीति

पकाहामैनपुर गाउँपालिकामा अबको नेतृत्व युवाले गर्नुपर्छ : नेता साह

वीरगन्ज,२२पुसःनेकपा एमाले निकटको अखिल नेपाल पिछडा वर्ग ओबीसी महासंघका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज अकलेश कुमार साहले देशमा नयाँ संविधान जारी भएपछिको अवसर र चुनौतीलाई सामना गर्न सक्षम नेतृत्व आवश्यक भएको बताएका छन्।

सञ्चारकर्मीसंगको कुराकानीमा साहले भने, “राष्ट्रियता, लोकतन्त्र, समाजवाद, र शान्तिका साथै थपिँदै गरेका चुनौतीको सामना गर्दै एमालेको सिद्धान्तलाई समयानुकूल परिमार्जन गर्न सक्ने नेतृत्वको खाँचो छ। अबको नेतृत्वले संविधानको सशक्त कार्यान्वयन गर्दै देशलाई संघीयताको सही मोडलमा लैजानुपर्छ।”

साहले पर्साको पकाहामैनपुर गाउँपालिकामा विकासको नाममा लुटतन्त्र मात्र देखिएको आरोप लगाउँदै विकासका कुनै ठोस परिणाम नदेखिएको बताए। ५ वडामा विभाजित गाउँपालिकामा शिक्षा, स्वास्थ्य, र यातायात क्षेत्रमा कुनै उल्लेख्य सुधार नभएको उनको भनाइ छ। “विद्यालयको अवस्था हेर्दा आँशु झर्ने स्थिति छ,” उनले भने।

२०७० सालदेखि आँखा शिविर, रक्तदान, कम्बल वितरण, राहत कार्यक्रम, स्वास्थ्य शिविर, महिला स्वास्थ्य सामग्री वितरण, तथा विपन्न परिवारका छोरीहरूको विवाहमा खाद्यान्न सहयोग जस्ता सामाजिक कार्यमार्फत आफूले समुदायमा योगदान दिँदै आएको साहले बताए।

साहले २०८४ को स्थानीय चुनावमा पकाहामैनपुर गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गर्दै भने, “संविधान जारी भएपछि थपिएका समस्याहरूको समाधान गर्दै सबैको सहभागितामा देशलाई संघीयताको सही मोडलमा लैजान एमालेले नेतृत्व दिनुपर्छ।”

आगामी नेतृत्वले पार्टीलाई नयाँ विचार र शैलीमा ढाल्नुपर्नेमा उनले जोड दिए। “युवाहरूको सक्रियताले पार्टीमा नयाँ सोच र एजेण्डाको स्थापना गर्नेछ,” उनले भने।

साहले पुरानो राजनीतिक पद्धतिबाट नयाँ राज्य व्यवस्था निर्माण गर्न नसकिने भन्दै पार्टीलाई प्रविधिमैत्री, उत्तरदायी, र कुशल नेतृत्व प्रदान गर्नुपर्ने आवश्यकता औंल्याए। “अबका चुनौतीलाई समाधान गर्न सक्षम, नैतिक, र दूरदर्शी नेतृत्वको खाँचो छ,” साहले भने।

Related posts

परवानीपुरमा काँग्रेस,एमाले र जसपाका ३ सय जना लोसपामा प्रवेश

MadhesKhabar

रास्वपा सभापति रवि लामिछानेको पक्षमा ३२ लाखले गरे हस्ताक्षर, ६२ लाख चन्दा संकलन

MadhesKhabar

नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश

MadhesKhabar

Leave a Comment