Madhes Khabar
राजनीति

खानेपानीको क्षेत्रमा भइरहेका कामको नतिजा देखिने गरी काम गरौँ : खानेपानी मन्त्री यादव

बुटवल, १७ पुस : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई वितरण गर्नका लागि निर्माण भइरहेका खानेपानी आयोजनामा नतिजा देखिने गरी तोकिएको समयमा काम सम्पन्न हुनु पर्ने बताएका छन् ।

बुधबार बुटवलस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको निरीक्षण एवं अनुगमन गर्दै मन्त्री यादवले मानिसलाई बाच्नका लागि आवश्यक पर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामहरुको नतिजा देखिने गरी समयमै काम गर्नु पर्ने बताए ।

उनले भने, “मानिसलाई बाच्नका लागि आवश्यक पर्ने सबै भन्दा महत्वपूर्ण चिज भनेको पानी हो । नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उदेश्यले सञ्चालनमा रहेका हाम्रा सबै खानेपानी आयोजनाहरुको नतिजा देखिने गरी काम गरौँ ।”मन्त्री यादवले हाल सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुमा कुनै पनि समस्या आईपरे अथवा बाधा अवरोध सृजना भए त्यसबारे जानकारी तत्काल आफुलाई सहित मन्त्रालयमा गराउन समेत उनेले सबैलाई आग्रह गरे।

यादवले भने, “खानेपानी जस्तो अत्यावश्यक चिजमा बाधा अवरोध हुनु हुँदैन । कति कतै कुनै समस्या आइपरे त्यसको जानकारी मलाई सहित मन्त्रालयमा गराउनु होला । समस्याको समाधान हामीले निकाल्ने छौँ ।”

अनुगमन तथा निरीक्षणकै क्रममा मन्त्री यादवले हाल निर्माणाधिन अवस्थामा रहेका खानेपानीका आयोजनाहरुमा केही निर्माण व्यवसायीहरुले विभिन्न बाहना बनाएर काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको भन्ने जन गुनासो सुनिएकाले निर्माणमा ढिला सुस्तिको काम तत्काल बन्द गर्न समेत आग्रह गरे ।“नागरिकका लागि अत्यावश्यक पर्ने खानेपानी आयोजना निर्माणमा ढिलाई गर्ने लगायतका कुनै पनि बाहना स्वीकार्य हुँने छैन,” उनले भने, “बाहना बनाएर काम ढिलो गर्ने तोकिएको समयमा आयोजना सम्पन्न नगर्नेका बिरुद्ध मन्त्रालय बाध्य भएर कानुनी बाटो खोज्ने छ ।”

निरीक्षण एवं अनुगमनमा मन्त्रालयका सचिव प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, सहसचिव राजेन्द्र सापकोटा लगायतको सहभागिता रहेको थियो ।

Related posts

डा.जगमान गुरुङको घोषणा:वैशाख २१ सम्म नेताहरू रिहा नभए २२ गते सामूहिक गिरफ्तारी दिन्छौ

MadhesKhabar

संविधान संशोधनको कामलाई तत्काल अघि बढाउँछौः कानूनमन्त्री चाैरसिया

MadhesKhabar

राप्रपाका वीरगन्ज महानगर अध्यक्ष सर्राफद्वारा राप्रपा पार्टी परित्याग

MadhesKhabar

Leave a Comment