वीरगन्ज,१५पुसःवीरगन्ज महानगरको शहरी क्षेत्रमा थप ८० वटा सिसिटिभी क्यामेरा जडान गरिनेको छ । महानगरको शहरी क्षेत्रका सार्वजनिकस्थलमा हाल ८० वटा सिसिटिभी क्यामेरा जडान गरिएकोमा अझ थप ८० वटा सिसिटिभी क्यामेरा जडान गरिने भएको वीरगन्ज उद्योग वाणिज्य संघ अन्तर्गतको सेफर वीरगन्जका संयोजक मनोज दासले जानकारी दिए ।
त्यसका लागि सोमबार वीरगन्ज महानगरपालिका,सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साबीच त्रिपक्षीय सम्भौता भएको छ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको कार्यकक्षमा मेयर सिंहकै रोहबरमा त्रिपक्षीय ससम्झौता गरिएको हो ।
सम्झौतापत्रमा वीरगन्ज महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सेफर वीरगन्जका तर्फबाट वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल र जिल्ला प्रहरी कार्यालय पर्साका तर्फबाट प्रहरी उपरीक्षक कुमोद ढुंगेलले हस्ताक्षर गरेको सेफर वीरगन्जका संयोजक दासले जानकारी दिए ।
उनका अनुसार, पावर हाउस चोकदेखि उत्तर र पश्चिम तर्फको सडक र टोलका साथै जनघनत्व बढी भएका टोलमा थप ८० वटा सिसिटिभी क्यामेरा जडान गरिनेछ ।साथै त्यसका लागि वीरगन्ज महानगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने,अपुग रकम जोहोको लागि सेफर वीरगन्जले बैंक तथा वित्तिय संघसंस्थासंग समन्वय गर्ने र जिल्ला प्रहरी कार्यालय पर्साले जडान गरिएका सिसिटिभी क्यामेराको कन्ट्रोल रुमका साथै रेखदेखको जिम्मा लिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
सिसिटिभी क्यामेजराको सन्जालमार्फत वीरगन्ज शहरलाई थप सुरक्षित र भय रहित बनाउने उद्देश्यले शहरका विभिन्न स्थानमा थप सिसिटिभी क्यामेरा जडान गर्न लागिएको र त्यसका लागि सोमबार त्रिपक्षीय सम्झौता गरिएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले बताए ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सेफर वीरगन्जका संयोजक दास,वीरगन्ज महानगरपालिकाका मेयरका स्वकीय सचिव सत्यराज घिमिरे ,योजना सल्लाहकार ईन्जिनियर प्रकाश अमात्य, जनसम्पर्क सल्लाहकार हरि पोख्रेल लगायतकाकोपनि उपस्थिती रहेको थियो ।