Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेस प्रदेशमा हरेक तीन दिनमा डुबेर एक जनाको मृत्यु

फाइल फोटो

वीरगन्ज,११ असोज : मधेस प्रदेशमा डुबेर मात्रै गत चार वर्षमा ४६० जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७६/०७७ देखि २०७९÷८० सम्म ४६० जनाको डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।मृतकमध्ये बालबालिकामात्रै २ सय ६५ जना छन्। मृतक सबै उमेर समुहका छन् । उनीहरूको पोखरी, खाल्डो, नदी तथा खोलामा डुबेर मृत्यु भएको हो ।

गत आर्थिक वर्षमा मात्रै मधेस प्रदेशमा डुबेर १ सय ५५ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा डुबेर मृत्यु भएका मध्ये ४८ जना बालक र ३३ जना बालिका छन्। ६२ जना पुरूष र १२ जना महिलाको डुबेर मृत्यु भएको तथ्यांक छ।गत आर्थिक वर्षमा धनुषा जिल्लामा ४१ , महोत्तरीमा २२, सिरहामा २१, रौतहटमा २१, सप्तीमा २०, सर्लाहीमा १६ र बारामा १३ जनाको डुबेर मृत्यु भएको छ् ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा मधेस प्रदेशमा डुबेर ९९ जनाको मृत्यु भएको तथ्यांक छ। जसमध्ये ५६ जना बालबालिका छन्। ३४ जना पुरुष र ९ जना महिलाको समेत त्यस अवधिमा डुबेर मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। सप्तरी, रौतहट र सिरहामा १९÷१९, धनुषामा १३, पर्सामा ९ जना , बारामा ८ जना ,महोत्तरीमा ५ र सर्लाहीमा ७ जनाको मृत्यु भएको छ।

त्यसैगरि आर्थिक वर्ष २०७७/७८ मा मधेसमा १ सय २० जनाको डुबेर मृत्यु भएको थियो। जसमा ७१ जना बालबालिका, ९ जना महिला र ४० जना पुरुष थिए। रौतहटमा सबैभन्दा बढी २३ जना, बारा र सप्तरीमा २१–२१ जना, धनुषामा २० जना, पर्सामा १५ जना, महोत्तरीमा ८ जना, सिरहा र सर्लाहीमा ६/६ जनाको डुबेर मृत्यु भएको थियो।

त्यसअघिको आर्थिक वर्ष २०७६/७७ मा मधेसमा डुबेर ८६ जनाको मृत्यु भएको थियो। त्यसमध्ये ५७ जना बालबालिका, १० जना महिला र १९ जना पुरूष रहेको तथ्यांक छ।

यी तथ्यांक हेर्दा मधेस प्रदेशमा प्रत्येक तीन दिनमा एकजनाको डुबेर मृत्यु भएको देखिन्छ। तर कुनै तहको सरकारले यसप्रति खासै चासो देखाएको पाइएको छैन।

डुबेर सबैभन्दा धेरै बालबालिकाको मृत्यु हुने घटनाका पछाडी मुख्य तीन कारण रहेको मधेस प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपपरीक्षक प्रवीण पोखरेल बताउँछन्।

‘पहिलो कारण त गाउँ घरमा निर्माणको काम गर्दा खाल्डो खनेर छोडदिने लापरबाही हो । दोस्रो बालबालिकाहरू बिना अभिभावकै खोला, नाला, पोखरीमा पौडी खेल्न, नुहाउन जाने कुरा। र तेस्रो वर्षा हुँदा खोलामा ठूलो पानी आउँछ बालबाच्चाले पानीको स्तर कतिबेला बढ्छ थाहै पाउँदैन्,’ उनले भने।

‘गाउँघरमा बाटो बनाउँदा ठेकेदारले पुर्ने क्रममा खाल्डाहरू बनाएर छाडिदिन्छन् । बाटो बन्छ तर त्यसको दुईतिरै ठूला खाल्डो हुन्छ। त्यो नपुरिँदा वर्षायाममा पानीले भरिन्छ । यो नियमविपरीतको कामले पनि धेरै बालबालिकाको डुबेर ज्यान गएको छ,’ इन्जिनियर कृष्ण महतो भन्छन्,‘खाल्डो बनाएपछि पुर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख हुन्छ। तर ठेकेदार त्यो कामबाट तर्किंदा मानवीय क्षति भइरहेको छ ।’

’स्थानीय सरकार स्रोतसाधन सम्पन्न छन् उनीहरूले गर्नुपर्ने। त्यसमा के भूमिका खेल्नुपर्छ हामी तयार छौँ,’ उनले भने, ‘अप्रीय घटना भएपछि मात्रै आवाज उठ्छ। हामीले घटना हुँदा खाल्डो पुर्न, लापरबाही नगर्न भनिरहेकै हुन्छौँ। जनचेतना फैलाउनेदेखि जोखिमयुक्त ठाउँको खाल्डो पुर्ने, पोखरी छेउमा सावधानी अपनाउने काम स्थानीय सरकारले गर्नुपर्छ।’

प्रदेशमा डुबेर मृत्यु हुनेको संख्या धेरै देखिएपछि नागरिकसँग प्रहरी साझेदारी कार्यक्रममा समेत यो मुद्दा समेट्ने तयारी भइरहेको पोखरेलले बताए। रोहित महतो / सेतोपाटीबाट

Related posts

गर्मीले आजित वीरगन्जवासी विद्युत प्राधिकरणकाे बदमाशीले थप पिडित

MadhesKhabar

सखुवा प्रसौनीका जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं : अध्यक्ष यादव

MadhesKhabar

मधेसका जनता तड्पीरहेका छन् ,मधेस सरकार कहाँ छ ? : लोसपा अध्यक्ष सोनल

MadhesKhabar

Leave a Comment