वीरगन्ज,१४पुसःपर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ बर्वाछटैलीमा सञ्चालित तीन दिने शिविरमा ५ सय ६५ जनाको आँखाको निःशुल्क शल्यकृया गरिएको छ । सिंगापुरको सिंइंग होप नामक संस्थाको आर्थिक सहयोग तथा तीलगंगा आँखा अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा पर्सागढी नगरपालिकाले सञ्चालन गरेको शिविरमा मोतियाबिन्दु भएका ५ सय ६५ जनाको आँखाको निःशुल्क शल्यकृया गरिएको हो ।
पुस ११ देखि १३ गतेसम्म बर्वा छटैलीस्थित नेपाल राष्ट्रिय मावि प्रांगणमा सञ्चालित शिविरमा पहिलो दिन २ सय २० , दोश्रो दिन १८० र तेस्रो दिन १६५ जनाको शल्यकृया गरिएको पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले जानकारी दिए ।
शिविरमा तिलगंगा आँखा अस्पतालका चिकित्सक डा. सागर रुइत र डा. दीक्षा विष्ट नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले फेको प्रविधिद्वारा आँखामा लेन्स लगाएर शल्यकृया गरेको तिलगंगा आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाले बताए । शिविरमा शल्यकृया गरिएकाहरुलाई औषधि र चश्मापनि निःशुल्क वितरण गरिएको उनले जानकारी दिए ।
शल्यकृया शिविरअघि पर्सा जिल्लाका विभिन्न ११ स्थानमा आँखाको जाँचशिविर गरिएको र त्यसमा करिब २ हजार २ सय जनाको आँखाको परिक्षण गर्दा ती मध्ये ७ सय जनामा मोतियाबिन्दुको समस्या भेटिएको शिविरमा प्राविधिक सहयोग गरेको वीरगन्ज सामुदायिक आँखा केन्द्रका सञ्चालक महेशसिंह धामीले जानकारी दिए । उनका अनुसार, तीमध्ये शल्यकृया शिविरमा ५ सय ६५ जनामात्र आएकाले उनिहरुको शल्यकृया गरिएको हो ।
तीनदिने शिविरमा आँखाका बिरामीहरुको यातायात, खाना र आवासको व्यवस्थापन पर्सागढी नगरपालिकाले गरेको पर्सागढी नगरपालिकाका मेयर पाठकले बताए । त्यसमा नगरपालिकाको करिब १० लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।
शिविरबाट पर्साको पर्सागढी नगरपालिकाका साथै बहुदरमाई नगरपालिका, वीरगन्ज महानगरपालिका,पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका साथै छिमेकी मुलुक भारतका स्थानीयले लाभ लिएएको मेयर पाठकले बताए ।
तीनदिने शिविरमा पर्सागढी नगरपालिकाका मेयर पाठकसंगै उपमेयर पूजा चौधरी,स्वास्थ शाखा प्रमुख नारायण प्रसाद पौडेल, पर्सागढी नगरपालिका–४ का वडाध्यक्ष शेख खुर्शेद मियाँ,कार्यपालिका सदस्य सिता लामापनि खटिएका थिए ।