वीरगन्ज,११ माघ : वीरगन्ज महानगरपालिका वडा नम्बर ७ रेल्वे रोडस्थित एसबी ट्रेडिङमा प्रहरीले छापा मारेर २५ लाख रुपैयाँ भन्दा बढी मूल्यको सामान बरामद गरेको छ ।
रेल्व रोडस्थित एक घरमा विकास गोयल सञ्चालक रहेको एसबी ट्रेडिङको गोदाममा वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले छापा मारेर बिलबिजक शंकास्पद रहेको करिब २५ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको विभिन्न सामान बरामद गरेको हो ।
गोदामबाट बेलुन, ब्याण्डेज, तास, पेन्सिल ,रबर, गुच्चा, इरेजर,लाइटर लगायतका सामान दुई ट्रक बरामद गरिएको वडा प्रहरी कार्यालय बीर्ताका प्रहरी निरीक्षक बिक्रम सुबेदीले जानकारी दिए ।बरामद सामानको बजार मूल्य अन्दाजी २५ लाख रुपैयाँ रहेको अनुमान गरिएको उनले बताए ।
गोदाममा राजश्व छलेर भित्रयाइएका सामान ठूलो परिमाणमा भण्डारण गरि राखिएको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गोदाममा पुगेर खानतलासी गर्दा बिलबजिक शंकास्पद देखिएपछि सामान जफत गरेको उनले बताए । बरामद सामान जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको जानकारी पनि उनले दिए ।

