वीरगन्ज,१० फागुन:वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा आइतबार साँझ दुई समुदायबीच झडप हुँदा केही समयका लागि अवस्था तनावग्रस्त बनेको छ।
प्राप्त जानकारी अनुसार साँझ केही युवाहरूबीच भएको सामान्य विवाद र कुटपिटपछि घटना फैलिएको हो। त्यसपछि दुवै पक्षका मानिसहरू जम्मा भई एकअर्कातर्फ उत्रिएपछि स्थिति बिग्रिएको बताइएको छ।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको थियो। एक समूहले अर्को समुदायको बस्तीतर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेर भीडलाई तितरबितर पारेको जनाएको छ।
हाल सो क्षेत्र खाली गराइएको छ र स्थानीयलाई आ–आफ्नो घरभित्र बस्न आग्रह गरिएको छ। सम्भावित अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना विभिन्न स्थानमा तैनाथ छन्।
प्रहरीले सर्वसाधारणलाई अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


