वीरगन्ज,८बैशाखःपर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ भलुवहीयाँमा शनिबार दिउँसो भएको आगलागीबाट कुखुरा पाल्ने पोल्टी फार्मसहित पाँच वटा घर र एउटा पोल्ट्री फार्म जलेर नष्ट भएको छ । आगलागीबाट १० बिघा भन्दा बढीको गहुँबालीपनि जलेर सखाप भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार, भलुवहीयाँ गाँउसंग जोडिएको सीमावर्ती भारतीय गाँउ बसन्तपुरको खेतमा गहुँ काटेर बाँकी रहेको खुटी (ठेट्ना)जलाउन एक किसानले आगो लगाएको र त्यहि बेला चलेको हावाहुरीले आगोको लप्का भलुवहीयाँ गाँउको गहुँखेतमा सल्किएर त्यसैबाट आगलागी भएको हो ।
आगलागीबाट भलुवहीयाँ गाँउमा पाँच वटा फुसको घर,एउटा पोल्ट्री फर्म, त्यसमा रहेका ब्रोइलर कुखुराका चल्लाका साथै १० बिघाभन्दा बढी गँहुबाली र १०÷१२ वटा परालको कुन्युपनि जलेर नष्ट भएको प्रहरी निरीक्षक केसीले बताए ।आगलागीबाट भलुवहीयाँ गाँउका किसुनदेव पासवान,मुकेश पासवान,रूपा पासवान, सन्तोष पासवान र लखन पासवानको घर तथा मनमोद प्रसाद यादवको कुखुरा फार्म जलेर नष्ट भएको हो ।
आगलागीबाट घर र त्यसमा रहेका सबै सामानहरु पूर्णरुपमा जलेर नष्ट भएका कारण ती घरका परिवारहरु बिचल्लीमा परेको घटनास्थलमा पुगेका सञ्चारकर्मी शैलेश गुप्ताले जानकारी दिए ।
भलुवहीयाँ गाँउमा लागेको आगलागी वीरगन्ज महानगरपालिका र पोखरीया नगरपालिकाबाट गएका दुई वटा दमकलको मदतमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिलेर निभाएको उनले बताए ।आगलागीबाट भएको क्षतिको विवरण अहिले यकिन भइनसकेको भन्दै प्रहरी निरीक्षक केसीले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए ।

