वीरगन्ज,१८असोजःवीरगन्जको नारायणी अस्पतालमा सरुवा भइ आएका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर चुमनलाल दासले आज(शुक्रबार)देखि कार्यभार सम्हालेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ६ गतेनै नारायणी अस्पतालमा सरुवा गरेका मेसु दासले मन्त्रालयले सरुवा गरेको १४ दिनपछि शुक्रबार अस्पतालमा हाजीर भई कार्यभार सम्हालेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले असोज ६ गते स्वास्थ्य सेवा विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारीमा रहेका दासलाई नारायणी अस्पतालको मेसुको जिम्मेवारी दिने निर्णय गरेका थिए ।
नारायणी अस्पतालको मेसुको कार्यभार सम्हालेका ११ औं तहका चिकित्सक डाक्टर दासलाई शुक्रबार नै उनको कार्यकक्षमा अस्पताल विकास समितिका पदाधिकारी, त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी,कर्मचारीले स्वागतपनि गरेका छन् ।
यसअघि गत जेष्ठ १३ गतेमात्रै नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारी डाक्टर एनामुल हकले पाएका थिए ।पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव स्वास्थ्यमन्त्री बनेलगत्तै तत्कालीन निमित्त मेसु डाक्टर चितरञ्जन साहलाई हटाएर दशौं तहका चिकित्सक डाक्टर हकलाई निमित्त मेसुको जिम्मेवारी दिएका थिए ।
डाक्टर हक निमित्त मेसु भएको ४ महिनापनि नबित्दै हालका स्वास्थ्यमन्त्री पौडेलले असोज ६ गते उनको जिम्मेवारी खोस्दै ११ औं तहका चिकित्सक डाक्टर दासलाई प्रमुख मेसुको जिम्मेवारी दिने निर्णय गरेका थिए । डाक्टर हक यसअघि २०७५ सालमापनि नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारी करिब ११ महिना सम्हालेका थिए ।
यसैबिच सरुवा भएको दुई हप्तासम्मपनि मेसु डाक्टर दास अस्पतालमा नआउँदा र निवर्तमान निमित्त मेसुले कार्यकारी अधिकार प्रयोग नगर्दा अस्पतालका विभिन्न विभागको सेवा दुई हप्तासम्म अस्तव्यस्त बनेको थियो । तर नयाँ मेसु दासले शुक्रबारदेखि कार्यभार सम्हालेपछि प्रभावित भएका अस्पतालका सेवाहरु अब नियमित हुने अपेक्षा गरिएको छ ।

