
मधेसखबर
वीरगंज पौष ५ गतेः
विभिन्न हिंसामा परेका र खासगरी बेचविखनमा परेका वा उद्धार गरेर ल्याईएका महिला तथा बालिकाहरुका लागि संरक्षण गृह नहुँदा समस्या भईरहेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
बिहीबार माईती नेपाल वीरगंजले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताईएको हो ।
पछिल्लो चार वर्षको तथ्यांक हेर्दा सबै भन्दा बढी किशोरी , महिला तथा बालिकाहरु राम्रो जागिर , आकर्षक तलब लगायतको प्रलोभनमा परी आर्केष्ट्रा नाँच जस्ता कार्यमा जबरजस्ती लगाईएको फेला परेका छन् भने भारतको वी विनर भन्ने नेटवर्किगं कम्पनीको जालमा फसेर जानेहरुको संख्या पछिल्लो समय बढेको माईती नेपाल वीरगंज आवधिक गृहकी सुपरभाईजर गोमा पौडेलले बताईन् ।
विभिन्न समस्यामा परेपछि खबर पाउने वितिक्कै विभिन्न स्थानबाट उद्धार गरेर ल्याईएका महिला , किशोरी तथा बालिकाहरुको संख्या दिनप्रतीदिन बढ्दै गएको र तुरुन्तै घर समाजमा फर्काउने अवस्था पनि नहुने गरेकोमा पर्सामा संरक्षण गृह नहुँदा व्यवस्थापनमा चुनौती हुँदै आएको पौडेलले बताएकी छन् ।

यसरी आवधिक गृहमा यस वर्ष कूल २ सय ६५ जनालाई संरक्षण दिइएका पौडेलले जानकारी दिईन् । ती मध्ये १ सय २७ जना १८ वर्ष मुनिका र १ सय ३८ जना १९ वर्षमाथि उमेर समूहका छन् । तीमध्ये १ सय १९ जनालाई प्रहरी तथा अन्य संघसंस्थाले जोखिमपूर्ण अवस्थामा फेला पारी माइती नेपालको आवधिक गृहको जिम्मा लगाएका थिए ।
यस वर्ष सीमाबाट उद्धार गरेर आवधिक गृहमा संरक्षण दिइएका १ सय ३२ मध्ये १३ कोशी प्रदेश, ४५ मधेश प्रदेश, ४२ बागमती प्रदेश, ९÷९ गण्डकी र लुम्बिनी प्रदेश, २ कर्णाली प्रदेश र १२ सुदुरपश्चिमका छन् । ती मध्ये ब्राम्हण÷क्षेत्री ३१, जनजाति ५०, दलित ११, मुस्लिम ९ र अन्यजातिका ३१ छन् ।
माइती नेपालले सन् २०२४ मा जोखिमपूर्ण रुपमा वीरगंज स्थित नेपाल भारत सिमा क्षेत्रबाट १ सय ७१ महिलाको उद्धार गरेको जनाएको छ ।
१ सय ७१ ज्ना मध्ये २० वर्षमाथि उमेर समूहका ३९ जनालाई उनीहरुको घर फिर्ता पठाइएको र बाँकी १ सय ३२ लाई आवधिक गृहमा ल्याई उनीहरुको अभिभावकलाई बोलाई जिम्मा लगाइएको थियो भने ती मध्ये ५४ जना १८ वर्षसम्मका र ७८ जना १९ बर्ष माथि उमेर समूहका रहेका थिए पौडेलले भनिन् ।
त्यस्तै सन् २०२० मा माईती नेपाल वीरगंज आवधिक गृहमा १ सय ११ जना संरक्षणमा राखिएका थिए भने सन् २०२१ म २ सय ३६ जना रहेका थिए । त्यसैगरी सन् २०२२ मा २ सय ८७ थिए भने सन् २०२३ मा २ सय ६४ जना रहेका थिए । त्यस्तै सिमाबाट सन् २०२० मा ७८ जनालाई उद्धार गरीएको थियो भने सन् २०२१ म १ सय ४३ जना सन् २०२२ १ सय ६६ जना र सन् २०२३ मा १ सय ९२ जनालाई उद्धार गरीएको पौडेलले बताईन् ।
त्यसैगरी विभिन्न प्रलोभनमा परी भारतको विभिन्न शहरबाट सन् २०२० मा ११ जनालाई उद्धार गरीएको थियो भने सन् २०२१ म ५८ जना , सन् २०२२ मा ५६ जना त्यस्तै सन् २०२३ मा १८ जना र यस वर्ष १० जनालाई उद्धार गरीएको पौडेलले जानकारी दिईन् ।
सुपरभाईजर पौडेलले बेचविखनमा परेका तथा विभिन्न प्रलोभनमा फसेर भारत गएका बालबालिका तथा महिलाहरुको उद्धार प्रक्रिया अझ पनि झण्झटीलो रहेको कारण कैयौ महिना लाग्ने गरेकोले चुनौती थपिदै जाने अवस्थाको सृजना हुने गरेको गुनासो गरीन् ।
उनले सिमा नाकामा सोधपुछ गर्दा सिमा पारी जान खोज्ने महिलाहरुले नै झुटो विवरण तथा प्रतिकृया दिने गरेकोले उद्धार गर्न समस्या हुने गरेको पनि बताईन् । त्यसका साथै सिमा नाका खटिने प्रहरी परिवर्तन प्रक्रियाले पनि हरेक पटक प्रहरीलाई सोधपुछ बारे अवगत गराउनुपर्ने भएकोले पनि समस्या हुने गरेको गुनासो गरीन् ।
माईती नेपाल वीरगजले खासगरी सिमा नाकामा निगरानी राख्ने तथा बेचविखनमा पर्न नदिन विभिन्न सचेतनामुलक कार्य गर्दै आएकोमा हाल सम्म सिमा नाकामा २१ ह्जार ३ सय ७२ सवारी साधनमा चेकजाच गरेर २५ हजार ६ सय १५ जनालाई सिमा क्षेत्रमै बेचविखन सम्बन्धि परामर्श गरीएको तथा २ हजार ४१ वटा विभिन्न सचेतनामुलक पर्चा समेत वितरण गरीएको पौडेलले जानकारी गराईन् ।
बेचविखन विरुद्धको अभियानमा माईती नेपाल वीरगंजसंगै साना हातहरु , आशिष सामाजिक सेवा र आफन्त नेपालले पनि सहकार्य गर्दै आएको छ ।

