धुनुषा,२२मंसिरः मधेस प्रदेशमा यस वर्ष १५ लाख २ हजार ४५८ मेट्रिक टन धान उत्पादन भएको छ । गएको वर्षमा मधेस प्रदेशमा भने १२ लाख ९६ हजार ६०७ मेट्रिकटन धान उत्पादन भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा २ लाख ५ हजार २५१ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताए ।
यस वर्ष मधेस प्रदेशमा धानको उत्पादन बढ्नुमा बेलैमा मनसुन हुनु, रोपाइँको क्षेत्रफल बढ्नु, मल र बीउ पनि सहज उपलब्ध हुनुलाई मुख्य कारण मानिएको छ । रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको कृषि प्रसार अधिकृत मेहताको भनाइ छ ।
मधेस प्रदेशमा गएको वर्षको तुलनामा यस वर्ष ५ हजार २०० हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो । गएको वर्ष प्रतिहेक्टर ३ दशमलव ५० मेट्रिकटन धान उत्पादन भएको थियो भने चालू वर्षमा प्रतिहेक्टर ४ मेट्रिक टन धान उत्पादन भएको छ ।
मधेस प्रदेशमा सबैभन्दा धेरै सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा उत्पादन भएको छ । सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन र रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन धान उत्पादन भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धानको खरिद प्रक्रियासमेत शुरु गरेको जनाएको छ ।रासस