
वीरगन्ज,७असोजःजेनजी आन्दोलनका क्रममा गत भदौं २४ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको घरमा अराजक समुहले गरेको आगजनीमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्युु भएको छ।
रुंगटाको घरमा घरेलु कामदारका रुपमा कार्यरत पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ की ४५ वर्षीया सोशीलादेवी हजाराको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १०ः २२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा रहेको रुंगटाको निवास परिसरमा रहेका ४ वटा भिल्ला (भवन) परिसरमा रहेका ४ वटा घरमा गत भदौं २४ गते जेनजी आन्दोलनका क्रममा अराजक समुहले तोडफोड र लुटपाट गर्दै आगजनी गरेका थिए।त्यसबेला घरको तेश्रो तल्लाको छतमा रहेका हजरा र अर्का एक युवकलाई जलेर गम्भीर भएको अवस्थामा महानगरपालिकाको वारुण यन्त्रको भर्याङको मदतबाट बाहिरबाट तल झारेर उद्दार गरिएको थियो ।
शरिरको ५० प्रतशत बढी भाग जलेर गम्भीर घाइते हजरालाई तत्कालै वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगेर भर्ना गरिएको थियो ।तर त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । त्यही उपचारका क्रममा सोमबार हजराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
रुंगटाको घरमा गरिएको आगजनीबाट हजरासंगै जलेर गम्भीर घाइते भएका भारतको बिहार राज्यको सुगौली घर भएका १८ वर्षीय विनय यादवको कीर्तिपुर बर्न अस्पतालमै उपचार चलिरहको छ । शरिरको ९० प्रतिशत भाग जलेर घाइते भएका उनको भने अहलिे स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।

