वीरगन्ज,२१मंसिरःनेपाली कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय महेन्द्र नारायण निधीको जिवनीमा आधारित ‘नेपालका निधी’ नामक पुस्तकको वीरगन्जमा लोकार्पण गरिएको छ ।
शुक्रबार वीरगन्जस्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य रमेश रिजालले पुस्तकको लोकार्पण गरेका हुन् ।उक्त पुस्तक वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले लेखेका हुन् ।
उक्त पुस्तकको लोकार्पण गर्दै पूर्वमन्त्री रिजालले कांग्रेसका पूर्वमहामन्त्री स्व. निधी मधेसका मात्रै नभई सम्पूर्ण नेपालकै नेता भएको स्मरण गरे । सभ्रान्त परिवारमा जन्मिएको भएपनि निधीले आफनो विलाशीताका जिवनशैली त्यागेर लोकतन्त्रका लागि समर्पण गरेको उनले बताए ।
पूर्वमन्त्री रिजालले स्व. निधी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले देखेका सपना पुरा गर्न नसकिएको भन्दै आँउदो पुस्ताले लोकतन्त्रकै बाटोमा लागेर देशलाई सम्बृद्ध बनाउने विश्वास व्यक्त गरे ।स्व. निधी गान्धीवादी नेता रहेको भन्दै उनले निधीको जिवनीमा आधारित पुस्तक ‘नेपाल का निधी’ पढेर निधीका बारेमा धेरै कुरा थाहा पाउन सकिने बताए ।
कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका लेखक किशोर नेपाल, वरिष्ठ पत्रकार चन्द्रकिशोर, प्रदेशसभा सदस्य श्याम पटेल, जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा एकिकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सचिव दिनेश चौधरी,वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,पूर्व उपमेयर शान्ति कार्की, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव,पोखरिया नगरपालिकाका पूर्वमेयर दिपनारायण रौनियार लगायतकाकोपनि सहभागिता थियो ।

