
पोखरा,९मंसिरः कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ।
सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको थुनामा रहेका लामिछानेलाई थुनामै राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई थप १५ दिनको अनुमति दिएको हो ।
पछिल्लोपटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आइतबार प्रहरीले लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

